
काठमाडौं, २६ भदौ । नेकपा एमालेले अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने बताएको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ ।’
महासचिव पोखरेलले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्ने बताएका छन् ।
उनले विज्ञप्तिमा नेतृत्वदायी भूमिका लिन राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएका छन् । ‘संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ,’ पोखरेलले विज्ञप्तिमा लेखेका छन् ।
पोखरेलको ८ बुँदे विज्ञप्तिमा विषम परिस्थितिमा सङ्घीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । स्थानीय तहहरूले निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
