
विश्वव्यापी रूपमा राजनीतिक उथलपुथल भइरहेको छ । नेपालमा युवाहरूले सबै पुरानो सोच र शैलीविरुद्ध विद्रोह गरेका छन् । सांसदहरूले आफ्नो न्यूनतम तलब दश गुणा बढाउने प्रस्ताव गरेपछि इन्डोनेशियामा विरोध प्रदर्शन जारी छ । फ्रान्समा, मानिसहरूले राष्ट्रपति म्याक्रोंको विरुद्धमा ‘सबै कुरा बन्द गर’ भन्दै विरोध गरिरहेका छन् किनभने उनीहरूलाई लाग्छ कि सरकारले उनीहरूलाई बिर्सेको छ । यसअघि, श्रीलंका र बंगलादेशमा विद्यार्थीहरूले यसैगरी सरकार ढालेका थिए ।
यसैबीच, अमेरिकामा राष्ट्रपति ट्रम्पले पनि राजनीतिको पुरानो ढाँचा परिवर्तन गर्ने प्रयास गरिरहेका छन् । धेरै विज्ञहरूले संसार ठूलो परिवर्तनको अवधिबाट गुज्रिरहेको बताइरहेका छन् । तर शेयर बजार बढिरहेको छ । उनीहरू यो परिवर्तनबाट डराएका छैनन्। उनीहरूलाई लाग्छ कि यो सबै छोटो समयको नाटक मात्र हो, र चाँडै नै सबै कुरा सामान्यमा फर्किनेछ । इतिहासमा यस्ता धेरै विद्रोह भएका छन् जसले कुनै फेरबदल ल्याएनन् ।
विगतमा धेरै क्रान्तिहरू
विगतमा धेरै पटक विश्वव्यापी क्रान्तिहरू, युद्धहरू र संकटहरू भएका छन् जसलाई विश्व परिवर्तनकारी घटनाहरूको रूपमा प्रचार गरिएको थियो, तर तीमध्ये धेरै कुरा झूठा वाचाहरू साबित भएका छन् ।
१८४८ मा युरोपमा पनि त्यस्तै विद्रोह भयो । उदारवादी, विद्यार्थी र कामदारहरू जताततै अधिकार र संविधानको माग गरिरहेका थिए । राजाहरू डराए । मानिसहरूले महसुस गरे कि अब लोकतन्त्रको युग आयो । सबैभन्दा ठूलो विद्रोह फ्रान्समा भयो, जसलाई भिक्टर ह्युगोले ‘लेस मिजरेबल्स’ मा चित्रण गरेका छन् ।
कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्र लेखे, जसमा भनिएको थियो, ‘युरोपलाई एउटा भूतले सताएको छ – साम्यवादको भूत । तर वर्षको अन्त्यसम्ममा धेरैजसो विद्रोहहरू दमन गरिए, राजाहरू फेरि सत्तामा आए, र जनताको सपना सपनैमा सीमित रह्यो ।
अमेरिकी गृहयुद्ध पछि पनि परिवर्तन भएन
गृहयुद्ध (१८६१–६५) पछि अमेरिकामा पनि यस्तै परिवर्तन भएको महसुस भएको थियो । जसमा मानिसहरूको अब दासत्व समाप्त भयो र अब साँचो बहु–जातीय लोकतन्त्र गठन हुनेछ भन्ने विश्वास गरिएको थियो । तर गोरा मानिसहरूले चाँडै नै शक्ति पुनः प्राप्त गरे र काला मानिसहरूलाई मतदान गर्नबाट रोक्न र तिनीहरूलाई अलग राख्न कानूनहरू बनाए ।
यी कानूनहरू १९६५ मा समाप्त भए । यद्यपि, दासत्वको छायाँले अझै पनि अमेरिकालाई सताइरहेको छ, र काला मानिसहरू अझै पनि समाजको सबैभन्दा तल्लो तहमा बस्छन् ।
पहिलो विश्वयुद्धको परिणामस्वरूप भयानक नरसंहार भयो, त्यसपछि विश्वमा युद्धहरू भइरहे । अक्सफोर्ड युनियनले एउटा प्रस्ताव पारित ग¥यो जसमा भनिएको थियो, यो सदन कुनै पनि परिस्थितिमा राजा र देशको लागि लड्ने छैन भन्ने प्रतिवद्धता जनाउँदछ । तर त्यसपछि दोस्रो विश्वयुद्ध पनि भइ छाड्यो । आज पनि युक्रेन र प्यालेस्टाइनमा युद्धहरू भइरहेका छन् ।
फ्रान्कोको मृत्युसम्म फासीवाद जारी रह्यो
१९३० को दशकमा स्पेनी गृहयुद्ध फासीवाद र लोकतन्त्र बीचको लडाई जस्तो देखिन्थ्यो । अर्नेस्ट हेमिंग्वे, जर्ज ओर्वेल, आर्थर कोस्टलर र आन्द्रे मालरो जस्ता विदेशी आदर्शवादीहरू फासीवाद विरोधी आन्दोलनमा सामेल भए । तर केही परिवर्तन भएन र फ्रान्कोको तानाशाही १९७५ मा उनको मृत्यु नहोउन्जेलसम्म जारी रह्यो ।
१९६८ मा संसारले अद्भुत विरोध प्रदर्शनहरू देख्यो जसको कुनै आयोजक थिएन । विद्यार्थीहरूले पेरिस कब्जा गरे, र फ्रान्सेली सेनाले प्रदर्शनकारीहरूमाथि गोली चलाउने राष्ट्रपतिको आदेश पालना गर्न अस्वीकार गर्यो ।
अमेरिकामा मार्टिन लुथर किङको हत्यापछि ११० शहरमा दंगा भयो र कालो शक्तिको अवधारणा आयो । ‘प्राग स्प्रिङ’ चेकोस्लोभाकियामा भएको थियो, जब एक कम्युनिष्ट देशले सोभियत संघको शासन विरुद्ध विद्रोह गरेको थियो । धेरै विज्ञहरूले भने कि १९६८ अन्याय विरुद्धको एक महत्वपूर्ण मोड थियो । तर केही समय पछि, सबै कुरा शान्त भयो, र अन्ततः कुनै उल्लेखनीय परिवर्तन देखिएन । उपभोक्ता पूँजीवाद, जातीय भेदभाव, र राज्यको शक्ति पहिले जस्तै जारी रह्यो ।
शीतयुद्धको अन्त्य वास्तवमै एउटा महत्वपूर्ण मोड जस्तो देखिन्थ्यो । फ्रान्सिस फुकुयामाले ‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ लेखेका थिए, जसको अर्थ उदारवादी लोकतन्त्रले तानाशाह प्रतिद्वन्द्वी माथि स्थायी रूपमा विजय हासिल गरेको थियो । एक दशक भित्र, पुटिनको नेतृत्वमा रूसमा पुनः उस्तै गरी सशक्त भयो , यही समयमा कम्युनिस्ट चीन एक महाशक्ति बन्यो र उदा।वादको विश्वव्यापी प्रभुत्वलाई चुनौती दिइरहेको छ ।
अफगानिस्तानले सबै भन्दा बढी विद्रोहको सामना गरेको छ । १९७९ मा सोभियत आक्रमणलाई एउटा प्रमुख विद्रोह मानिन्थ्यो । १९९२ मा कम्युनिष्टहरूलाई हटाउने छापामार युद्ध पनि एउटा विद्रोह थियो, तर त्यसपछि भएको क्रूर गृहयुद्ध पछि तालिबान शासन आयो । यसले ओसामा बिन लादेनलाई ९÷११ बम विस्फोट गराउन मद्दत ग¥यो । आफ्नो देशमा भएको आतंकवादी आक्रमणपछि, अमेरिकाले युद्धको घोषणा ग¥यो र चाँडै नै काबुलमा आफ्नै सरकार स्थापना ग¥यो । तर त्यो योजना पनि अन्ततः असफल भयो, र तालिबान शासनमा फर्कियो ।
विचारहरू जीवित रहन्छन्
इतिहासलाई हेर्दा, यो धेरै जटिल छ । परिवर्तन प्रायः बिस्तारै हुन्छ । १८४८ को क्रान्ति असफल भयो, तर तिनीहरूका विचारहरू जीवित रहे र पछि ठूलो रूप धारण गरे । सोभियत संघ र पूर्वी युरोपमा साम्यवादको पतन एउटा ठूलो परिवर्तन जस्तो देखिन्थ्यो, तर चीन चाँडै नै साम्यवादको नयाँ रूप लिएर उठ्यो ।
परिवर्तनको लागि उठाइएको आवाज कहिल्यै खेर जाँदैन, यसले भविष्यको लागि आशाको बीउ रोप्छ । यदि हामीले इतिहासलाई हे¥यौं भने, हामी देख्नेछौं कि कुनै पनि परिवर्तन क्षणभरमा भएका छैनन् । हुनसक्छ वाल स्ट्रिटका व्यापारीहरू सही छन् । उनीहरू ट्रम्पको क्रान्तिको प्रयासलाई एउटा सानो घटनाको रूपमा हेर्छन् जसले धेरै परिवर्तन गर्दैन । मलाई लाग्छ उनीहरू सही हुन सक्छन् । (नवभारत टाइम्सबाट)
