
लेह, ९ असोज । केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा र संविधानको छैटौं अनुसूचीमा समावेश गर्न माग गर्दै लेहमा भएको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु भएको छ। युवा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा ८० भन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा ४० प्रहरी पनि छन्। प्रदर्शनकारीहरूले भाजपा र लद्दाख स्वायत्त पहाडी विकास परिषद्को कार्यालय र धेरै सवारी साधनहरूमा आगजनी गरेका छन्।
स्थिति नियन्त्रण बाहिर जाँदा, सुरक्षा बलले अश्रुग्यास, लाठीचार्ज र गोली चलाएको थियो। लेहमा कर्फ्यू लगाइएको छ र इन्टरनेट सेवाहरू काटिएका छन्। हिंसापछि, चार दिने वार्षिक लद्दाख महोत्सव रद्द गरियो। भेलाहरूमा प्रतिबन्ध लगाइयो। जलवायु कार्यकर्ता सोनम वाङचुकले आफ्नो अनशन तोडेका छन् र युवाहरूलाई शान्ति कायम राख्न अपील गरेका छन् ।
प्रदर्शनकारीहरूमा ठूलो संख्यामा विद्यार्थीहरू छन् । पर्यावरण अभियन्ता सोनम वाङचुक आफ्ना मागहरूको लागि दबाब दिन १५ दिनदेखि आमरण अनसनमा थिए। लद्दाख एपेक्स बडी (एलएबी) को युवा शाखाका पन्ध्र कार्यकर्ताहरू पनि सेप्टेम्बर १० देखि ३५ दिने भोक हडतालमा थिए। दुई जना कार्यकर्ताको अवस्था बिग्रिएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो, जसका कारण एलएबीले बुधबार लेहमा बन्दको आह्वान गरेको थियो। बन्दको समयमा ठूलो संख्यामा युवाहरू सडकमा उत्रिए र जुलुस निकाले।
प्रदर्शनकारीहरूले प्रहरी र सुरक्षा बलमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति झनै बिग्रियो। भाजपा र हिल काउन्सिलको मुख्यालयमा आक्रमण गरी आगजनी गरियो। प्रहरी र सीआरपीएफका गाडीहरू जलाइए।
छैटौं अनुसूची के हो ?
संविधानको छैटौं अनुसूचीले हाल चार उत्तरपूर्वी राज्य त्रिपुरा, मेघालय, मिजोरम र आसामलाई समेट्छ। यस अनुसूचीले शासन, राष्ट्रपति र राज्यपालको शक्ति, स्थानीय निकायका प्रकार, वैकल्पिक न्यायिक संयन्त्र र स्वायत्त परिषदहरू मार्फत प्रयोग गरिने वित्तीय शक्तिहरूको बारेमा विशेष प्रावधानहरू राख्छ।
आज कारगिल बन्दको घोषणा
लद्दाखको हितका लागि लड्नेहरूसँग ऐक्यबद्धता व्यक्त गर्न र वार्तालाई अगाडि बढाउन बिहीबार कारगिल बन्दको घोषणा गरिएको छ। लद्दाख स्वायत्त पहाडी विकास परिषद् (एलएएचडिसी) कारगिलका अध्यक्ष डा. जफर अखुनले यो कुरा पुष्टि गरे।
