
काठमाडौं, ९ असोज । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का पूर्वअध्यक्ष डा। बाबुराम भट्टराईले भ्रष्टाचारमा मुछिएका ठूला राजनीतिक दलहरू शिर ठाडो गरेर आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा फेरि आउन सक्ने भन्दै जेनजीहरु चनाखो हुन जरुरी रहेको बताएका छन् ।
बुधबार नयाँ शक्ति पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका डा। भट्टराईले आज बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलन र उनीहरुको मागप्रति समर्थन जनाउँदै राजनीतिक दलहरुले फेरि शिर उठाएर देशको भविष्य सखाप पार्न खोजिरहेको आरोप लगाए ।
साथै, डा। भट्टराईले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन, देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु ।’ जेनजी युवा आन्दोलन जायज भएको पनि उनले बताए ।
उनले चुनाव अगाडि भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्ने बताए । अन्यथा भ्रष्ट नेताहरु नै निर्वाचित भएर आउन सक्ने बताए । उनले पुरानो सरकार ढाले पनि सत्ता नढलेको भन्दै शासकीय प्रणालीमा सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए ।
‘यो सरकार तपाईंहरुले बनाएको सरकार हो, यो सरकारसँग वार्ता गरेर लिखित रूपमा निर्वाचनअघि केही सुधारका काम हुनुपर्यो’, भट्टराईले भने, ‘पहिलो त भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग बन्नुपर्यो ।’ उनले घटनाको छानबिन गर्ने आयोग बने पनि त्यो एउटा अंश मात्र रहेको बताए ।
उनले भने– ‘भ्रष्टचारीहरुसँग लुटेर राखेको अर्वौ सम्पत्ति छ, अलिअलि त अस्ति जल्यो तर अरू पनि लुकाएर राखेका छन् । त्यसैको बलमा उनीहरू चुनाव जितेर आउँछन् । त्यसैले यो प्रणालीमा राजनीतिक स्थिरता हुँदैन ।’
