
बर्दिवास, २० कात्तिक । बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रिया भर्खर बामे सर्न थालेको पाइएको छ । जग्गा प्राप्तिको प्रकृया अन्तिम चरणमा पुगेकाले अब कलेज बन्छ भन्ने विश्वास गर्न सकिने भएको हो ।
‘जग्गा प्राप्तिको अन्तिम चरणमा छौं’ बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख निर्मल घिमिरेले भने ‘जिल्ला वन कार्यालयले बल्ल प्रतिवेदन दिएर वन मन्त्रालय पुर्याएका छौं ।’ घिमिरेकाअनुसार वन मन्त्रालयसंग जग्गा प्राप्तिको प्रक्रिया पुरा गरेपछि मात्र शिक्षा मन्त्रालयसंगको प्रकृया अघि बढछ । शिक्षाले डिपिआर स्वीकृत गरेपछि रुख काटने र खाल्डो खन्ने सुरु हुन्छ ।
बहुवर्षिय योजनामा परेको यो योजनामा यस अािर्थक वर्षमा २५ करोड रहेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारले ३ करोड सम्मका आयोजनामा विनियोजन गरेको बजेट खारेज गर्दा यो वचेको हो । यो आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तसम्ममा रुख कटान र खाल्टो खन्ने काम सूरु गरिसक्ने लक्ष्य लिएको योजना प्रमुख घिमिरेले बताए । बर्दिवास र बुटवलमा बन्नु पर्ने मेडिकल कलेजको वनको झमेलाका कारण ढिलाई भएको बताइएको छ । माओवादीका गिरिराजमणि पोखरेल र एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको यसमा भरपुर सहयोग छ । पूर्व अर्थमन्त्री पौडेको सहयोगले नै बजेट कटौतीबाट जोगिएको घिमिरेले बताए ।
बर्दिवास–४ मा मेडिकल कलेजका लागि जग्गा रोजिएपछि सो क्षेत्र वनको अधिनस्त भएकाले झमेला भएको हो । अझ बर्दिवासमा मेडिकल कलेज हुन नदिन पर्यावरणको बहानामा सर्वोच्चमा मुद्दा परेपछि २०७५ सालमै पूर्वाधार निर्माणका लागि कार्यालय स्थापना भए पनि रोकिएको थियो । सर्वोच्च अदालतले त्यहा काटिने रुखमा १ बराबर १० विरुवा रोपेर हुर्काइ पाँचवर्षपछि वन कार्यालयलाई जिम्मा लगाउने शर्तमा जग्गा उपलब्ध गराउन मिल्ने निकास दिएको थियो ।
सर्वोच्चको सोही फैसला बमोजिम जङ्घाहा नदीको नदी उकासमा बृक्षारोपण गरिएको छ । पहिले रोपेका विरुवा धेरैजसो बाढीले बगाएपछि पुनः बृक्षारोपण गरिएको छ । अहिले सो स्थानमा बाढी नपस्ने गरी तटबन्ध गरिएको र विरुवा रोपिएका क्षेत्रभरी तारजालीले घेरिएको छ । वनका अधिकृतले एक—एक गरेर गणना गर्दा पनि २२ हजार ५०० विरुवा हुर्किसकेका पाइएकाले जिल्ला वनले मन्त्रालयमा प्रतिवेदन बुझाएको घिमिरेले जानकारी दिए ।
उनले भने ‘वन अधिकृतले किल्लामा नम्बर लेखेर हरेक विरुवामा एउटा किल्ला गाडदैं गर्दा २२ हजार पाँच सय हुर्किएका विरुवा नै पुग्यो ।’ त्यस वाहेक पनि खयरको विऊ नै छरिएको थियो, ती पनि अहिले बाक्लै उम्रेका छन्, घिमिरेले जानकारी दिए । ‘हामीले अधिकतम् १२ सय रुख काट्नु पर्ला । एक बराबर दशको हिसावले १२ हजार विरुवा भए पुग्ने हो तर, २२ हजार पाँच सय त हुर्किसकेका छन् ।’
विरुवाका लागि अहिले हेरालु राखिएको, समय–समयमा गोडमेल र सिंचाई पनि गर्ने गरेको उनले जानकारी दिए । ‘मेरो सरकारी सेवा अवधि अब केही महिना मात्र छ । आफ्नो ठाउँ पनि भएकाले मेरै कार्यकालमा भवन निर्माण सुरु गराएरै छाड्छु । सुरु भएपछि त बहुवर्षिय योजना हो बन्छ’ घिमिरे प्रतिवद्धता जनाए ।
