बर्दिवास नगरपालिका र साझा संस्थाबीच भएको सम्झौताले यस क्षेत्रका किसानको काँया पलट हुने

banner

बर्दिवास, २२ कात्तिक । श्रीकिसान सहकारी साझा संस्था बर्दिवास र बर्दिवास नगरपालिकाबीच बेसार र दुग्ध डेरी सञ्चालन गर्ने सहमति भएको छ । शुक्रबार साझा संस्थाका प्रतिनिधि र नगरपालिकाबीच यस्तो सम्झौता भएको हो ।

सम्झौता अनुसार नगरपालिकाले साझाको २० हजार बराबरको शेयर खरिद गर्नेछ भने नगरबाट प्राप्त शेयर बराबरको सो रकम साझाले किसानलाई बेसारको बिऊ खरिदका लागि अनुदान दिनेछ । त्यसैगरी डेरी उद्योगका लागि नगरले साझाको छुट्टै शेयर खरिद गर्ने र साझाले नगरबाट प्राप्त सो रकम दुग्ध उत्पादन तथा प्रशोधनका लागि खर्च गर्नेछ ।

बेसार खेतीका लागि किसानले बिऊ खरिद गर्दा लागेको रकमको ५० प्रतिशत रकम साझाबाट अनुदानमा प्राप्त गर्ने अध्यक्ष भानुभक्त पोखरेलले बताए । डेरी सञ्चालनका लागि भने मेसिनरी खरिद गर्न नगरले शेयर खरिद गर्ने रकम खर्च हुनेछ । त्यसका लागि साझाले किसानको घर–घरबाटै दुध खरिद गर्नु पर्नेछ साथै समयमै भुक्तानी दिनु पर्नेछ । सो सम्झौताअनुसार किसानको दुधको रकम भुक्तानीको ग्यारेण्टी हुने नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बताए ।

अब जंगली जनावर घोडगधा, बाँदर, बदेलबाट बाली नष्ट गरिदिंदा अक्रान्त भएका किसानलाई राहत हुने देखिएको छ । बेसार खेती कुनै जंगली जनाबरले नोक्सान नगर्ने भएकाले र जति उत्पादन गरेपनि साझाले खरिद गर्ने ग्यारेण्टी गरेकाले किसानलाई राहत हुने भएको हो । नगर प्रमुख क्षेत्रीले भने ‘बेसार खेती र डेरी साझाले सञ्चालन गर्दा किसानलाई भुक्तानीका लागि असहज हुँदैन । नगरपालिका ग्यारेण्टी बसेजस्तै भयो ।’

गाउँघरमा किसानको दुध सस्तोमा बेच्नु पर्ने र भुक्तानी पनि समयमा नहुने भएकाले साझाले डेरी उद्योग सञ्चालन गर्नाले यो समस्याको समाधान हुने उनले बताए । नगरको सहयोग भएपछि साझाले किसानसंग दुध खरिद गर्दा किसानले दुधको मूल्य समयमा पाउने मात्र नभई अहिलेभन्दा बढी मूल्य पनि पाउने आशा नगर प्रमुख क्षेत्रीले ब्यक्त गरे । यसले बर्दिवास नगरका किसानले ठूलो राहत पाउनुका साथै कृषिमा आत्म निर्भरताका लागि कोशे ढुङ्गा सावित हुने उनको कथन थियो । साझाले अग्रसरता देखाएको बेसार खेती र डेरी उद्योगका लागि नगरले अर्थिक मात्र होइन प्राविधिक सहयोगसमेत गर्ने नगरप्रमुख क्षेत्रीले बताए । यसका लागि अरु पनि सहकारीको प्रस्ताव आएको वताउदै प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले साझा संस्था सबैको साझा भएकाले यसलाई अघि बढाउनु नै उपयुक्त भएकाले यस्तो निर्णय भएको बताए ।

कठोर पञ्चायती ब्यवस्थामै सहकारीमार्फत किसानलाई आत्मनिर्भर बनाउन २०३२ सालमा बर्दिवाससहित देशका ३२ जिल्लामा किसान सहकारी साझा संस्था स्थापना भएको हो । बर्दिवासको महेन्द्र राजमार्ग नजिकै स्थापना भएको यो ंसंस्थाले सुरुका दिनमा कृषिका लागि आवश्यक मद,खाद, बिऊ, बिजनका साथै कृषि उत्पादन खरिद, बिक्रीसमेत गर्ने गरेको थियो । साझाले बैकिङ्ग कारोवार गर्न लागेपछि यसको ओरालो यात्रा सुरु भएको हो । साझाले कृषि विकास बैकसंग ऋण लिएर किसानलाई ऋणमै मल,खाद, बिऊ उपलब्ध गराउने र सो रकम तत्कालिन टाठावाठा किसानले नतिरिदिंदा साझाको ओरालो यात्रा सुरु भएको हो । कृषि विकास बैंकको ऋण तिर्न नसक्दा साझाले करोडौको जमिन कौडीका मूल्यमा गुमाउनु परेको थियो ।

गत वर्ष यसको सञ्चालन समितिमा भानुभक्त पोखरेलको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय समिति गठन भएपछि यसले पुनः गति लिन थालेको हो । पोखरेल नेतृत्वको समितिले कौडीको मूल्यमा करोडौको जमिन जफत गरेको कृषि विकास बैंकसंग जमिन फिर्ता गर्नेदेखि पुनः किसानसंग साझालाई जोड्न विभिन्न गतिविधि गर्न लागेको हो । नगरपालिका र साझाबीच भएको यो सहमति ऐतिहासिक भएको र यसले यस क्षेत्रका किसानको अनुहारमा मुस्कान फर्काउन सक्ने आशा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार