
बर्दिवास, २८ कात्तिक । नेपाली कांग्रेस र नेकपा(एमालेकोको एउटा गल्तीले अहिले मधेश प्रदेशमा राजनीतिक टकरावको स्थिति उत्पन्न भएको खुलासा भएको छ । त्यही एउटा गल्तीले जितेन्द्र सोनल मुख्यमन्त्री भए र अहिले मधेशमा राजनीतिक नौटंकी प्रदर्शन भइरहेको छ ।
बिहीबार बर्दिवासस्थित गौतम होटलमा भएको एमाले मधेश प्रदेश कमिटीको बैठकमा इञ्चार्ज लीलिानाथ श्रेष्ठले त्यो गल्ती स्मरण गरेका थिए । होटलमा मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम किन आयोजना गर्नुपर्यो भन्ने कुराको जानकारी दिंदै उनले भने ‘हामीले पहिले एउटा मिस्टेक गरेकाले यो स्थिति आयो । नत्र अहिले कांग्रेसको नेतृत्वमा मधेश सरकार हुन्थ्यो । सोनलको कुनै चान्स नै थिएन ।’
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुखबाट संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेकी थिइन् । एमाले नेता श्रेष्ठले भने ‘त्यतिबेला कांग्रेस–एमाले र जनमत मिलेर कांगेसको नेतृत्वमा सरकार बनाउने दावी पत्र पहिलो नम्बरमै पेश भएको थियो । तर, त्यो दावी पत्रमा मिति भने प्रदेश प्रमुखले आह्वान गर्नुभन्दा पहिलेको परेकाले लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री भएका थिए ।’ जनमतले दुवैतिर हस्ताक्षर गरेकाले पहिले जस्ले पत्र पेश गर्यो उसैको सदर हुने भएकाले अहिले कांग्रेसकै नेतृत्वमा सरकार हुन्थ्यो र अहिलेको अवस्था सिर्जना नै नहुने उनले खुलाए ।
मुख्यमन्त्री सोनलले विश्वासको मत लिने दिन आफैले तोकेर सिफारिस गरेको । संसदीय कारवाही सुरु भएर मत विभाजनको प्रकृया आरम्भ भइसकेपछि एक्कासी राजीनामा घोषणा गरेको उनले सुनाए । उनले भने ‘सोनलले राजीनामा दिएपछि पनि कांग्रेसका विभिन्न नेतासंग छलफल गरेको र पूर्वमहान्यायाधिवक्तादेखि संघीय संसदको सचिवसम्मको राय लिंदा संविधानको धारा १६८(३) नै आकर्षित हुने सुझाव आएको हो ।’
नेपाली कांग्रेसलाई नसोधी, परामर्श नगरी एमाले एक्लैले केही नगरेको बताउँदै एक एमाले नेताले भने ‘अहिले जुन काम कांग्रेसले गरिरहेको छ, त्यो गर्नुभन्दा हिजै सोनललाई विश्वासको मत दिएको भए सरोजको मुख्यमन्त्रीको अवस्थै आउदैन थियो ।’ मुठभेड नहोस् भनेर वैकल्पिक उपाय अपनाउँदा ‘होटल’ भनेर उछालियो, अन्य जो भए पनि हुन्छ एमाले हुनुहुँदैन भन्ने जबर्जस्ती भएको सबैले बुझेकै विषय भएको उनले दावी थियो ।
