मधेश प्रदेशभित्र संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने

banner

जनकपुर: मधेसमा संवेदनशील क्षेत्रहरू पहिचान गरी सुरक्षा बलको तैनाथी र गस्ती व्यवस्थालाई थप सुदृढ गरिने भएकाे छ। शनिबार जनकपुरधाममा मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बसेकाे प्रदेश सुरक्षा समन्वय समिति बैठकले सो निर्णय गरेको हो।

बैठकमा प्रदेशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्दै आवश्यक रणनीति र समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकमा प्रदेश प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्थानीय प्रशासनका प्रमुख अधिकारीहरू, र अन्य सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए।

उनीहरूले प्रदेशमा हालसालै देखिएका सुरक्षा चुनौतीहरू, सम्भावित जोखिम, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी चाडपर्वलाई लक्षित सुरक्षा योजनाबारे धारणा राखेका थिए।

मुख्यमन्त्री यादवले प्रदेशमा शान्ति र सुरक्षा सुनिश्चित गर्न सबै सुरक्षा निकायहरूको सघन समन्वय अत्यन्त महत्त्वपूर्ण रहेको बताएका थिए। उनले सुरक्षा कमजोरी देखिन नदिने र प्रदेशमा शान्ति कायम राख्नका लागि सबै निकायबीच साझेदारी र समन्वयको आवश्यकता रहेको उल्लेख गरे।

याे बैठकलाई प्रदेशमा शान्ति र सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउनका लागि महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार