
काठमाडौं:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको दावी गरेका छन् ।आज काठमाडौंमा कमाण्डर घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने भएकाले आफूहरूले फोर्स घोषणा गरेको बताए ।
ओलीले भने‘यो फोर्स देशमा शान्ति सुव्यवस्था कायम गर्न बनेको हो । राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्न सक्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानको रक्षा हुने अवस्था रहेन ।’
फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले यसले राष्ट्र हितको लागि काम गर्ने बताए।उनले भने‘यो राष्ट्रिय हितका लागि गठन भएको हो। एमालेसँग असहमति राख्ने अथवा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा गर्ने कामको लागि यो गठन भएको हो। यसको गठन र विकाससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन। यो देशमा शान्ति सुरक्षाको लागि गठन गरिएको हो।’
राज्य संयन्त्रले मात्रै जनताको जिउधनको रक्षा गर्न नसकेको आफूहरूले भोगेको बताए। यो फोर्स कसैका विरुद्धमा नभएको उनको भनाई थियो ।
आफ्ना स्वंयसेवकहरूले अनुशासित भएर काम गर्ने दावी गर्दै उनले भने–‘यो स्वंयसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो ।
