
काठमाडौं, २९ पुस । नेपाली कांग्रेसमा पार्टीलाई फुटबाट जोगाउन मंगलबार मात्र दुई पटक वार्ता भए पनि अब सहमति लगभग सकिएको छ । यससंगै लगभग ८० वर्ष पुरानो पार्टी तेश्रो पटक विभाजनको संघारमा पुगेको छ ।
एकातिर पटक–पटक दुवैपक्षबीच वार्ता भए पनि भृकुटीमण्डपमा विशेष महाधिवेशन निरन्तर जारी छ । विशेष महाधिवेशनमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको संकल्प प्रस्ताव पारित भई अब निर्वाचनतिर डोरिएको छ । शिेष महाधिवेशन आह्वानकर्ता मध्येका गगन थापाले बाहिरको सहमति कुनै हालतमा मान्य छैन । महाधिवेशन हलको सहमति मात्र मान्य हुने घोषणै गरेका छन् । उनले बाहिर सहमति भए पनि हलले अनुमोदन गर्नु पर्ने शर्त राखेका छन् ।
वार्तामा विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिने, विशेषमा पारित भएका नीति तथा प्रस्ताव नियमित महाधिवेशनले अनुमोदन गर्नेगरी ग्रहण गर्ने, नियमित महाधिवेशन तोकिएकै समयमा गर्ने ग्यारेण्टीलगायतका विषयमा दुवैपक्ष सहमत भए पनि सभापति शेरबहादुर देउवाले तत्काल राजीनामा दिनु पर्ने विशेष पक्षधरको प्रस्तावमा संस्थापन पक्ष तयार नभएको बताइएको छ । बालुवाटारमा दोश्रो पटक सबेको वार्ता टोलीको बैठक यही विषयमा टुंगोमा पुग्न नसकी फेरि बस्नेगरी सकिएको बताइएको छ ।
