यस्तो छ विश्वको डरलाग्दो आर्थिक तथ्यांक, नेपालमा एक प्रतिशतसंग ५० प्रतिशत धन

banner

एजेन्सी, ५ पुस । विश्वमा धनीहरू झन भनी र गरिव झन गरिव हुने बढीरहेको तथ्यांकले देखाएको छ । अन्तराष्ट्रिय संस्था अक्सफामले जारी गरेको ‘‘रेजिस्टिङ द रुल अफ द रिच’ शीर्षकको प्रतिवेदनअनुसार सन् २०२५ मा अर्बपतिहरूको सम्पत्ति इतिहासकै उच्च विन्दुमा पुगेको छ। अर्बपतिहरूको सम्पत्तिमा भएको यो वृद्धि विगत पाँच वर्षको औसतभन्दा तीन गुणा तीव्र देखिएको छ। तर, यसको ठिक विपरीत विश्वको ठुलो जनसङ्ख्या गरिबी र भोकसँग लडिरहेको छ।

अर्बपतिहरूको सम्पत्ति १६ प्रतिशतभन्दा बढीले बढेर १८।३ ट्रिलियन डलर पुगेको छ। सन् २०२० यता मात्रै उनीहरूको सम्पत्ति ८१ प्रतिशतले बढेको छ। गत वर्ष मात्रै अर्बपतिहरूको सामूहिक सम्पत्ति २।५ ट्रिलियन डलरले बढेको छ, जुन विश्वका ४ अर्ब १० करोड गरिब मानिससँग भएको कुल सम्पत्ति बराबर हो। विश्वमा पहिलो पटक अर्बपतिहरूको सङ्ख्या ३ हजार नाघेको छ भने एलन मस्क आधा ट्रिलियन डलर सम्पत्ति हुने पहिलो व्यक्ति बनेका छन्।

विश्वमा सम्पत्तिको यो थुप्रो लाग्दै गर्दा नेपालको अवस्था पनि कहालीलाग्दो देखिएको छ। नेपालमा सबैभन्दा धनी १ प्रतिशतसँग भएको सम्पत्ति सबैभन्दा गरिब ५० प्रतिशत जनसङ्ख्याको तुलनामा ५१९ गुणा बढी छ। तथ्याङ्कअनुसार नेपालका गरिब ५० प्रतिशत जनसंख्यासँग देशको केवल ४।७ प्रतिशत सम्पत्ति छ भने १ प्रतिशत धनीले २४।५ प्रतिशत सम्पत्ति ओगटेका छन्। यस्तै आयमा पनि ठुलो लैङ्गिक खाडल छ, जहाँ महिलाको श्रम आम्दानी पुरुषको तुलनामा मात्र २८ प्रतिशत रहेको छ।

विश्वभर पनि प्रत्येक चार जनामध्ये एक जनाले नियमित रूपमा पर्याप्त खाना नपाउने अवस्था छ। अक्सफामले अति–धनी वर्गले राजनीतिक शक्तिलाई आफ्नो मुठ्ठीमा लिएर अर्थतन्त्र र समाजका नियमहरू आफू अनुकूल बनाइरहेको दाबी गरेको छ। साधारण नागरिकको तुलनामा अर्बपतिहरू राजनीतिक पदमा पुग्ने सम्भावना ४ हजार गुणा बढी रहेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकामा ट्रम्प प्रशासनले अर्बपति–पक्षीय एजेन्डा अघि बढाएको र यसले विश्वभरका कुलीनतन्त्रलाई बढवा दिएको अक्सफामको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार