
झापा, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही सिटमा ठूलै पार्टीसंग तालमेल हुनसक्ने संकेत गरेका छन् । कहाँ–कहाँ र कुन पार्टीसंग भन्ने कुरा खुलाउन चाहेनन् । उम्मेदवारी दर्ताका लागि झापाको दमक पुगेका अध्यक्ष ओलीले भने ‘गठबन्धन भन्ने शब्दै ठिक भएन तर यसलाई चुनावी तालमेल भन्नुस् । केही स्थानमा तालमेल भने हुन सक्छ ।’
झापा –३ मा राप्रपासंगको तालमेलका बारेमा अहिले नसोचिएको बताए । ओलीले भने, ‘हामीले गरेको विकासबाट आत्तिएर केही मानिसहरू हामीलाई भिलेन करार गर्न लागेका छन् । यो सम्भव छैन । केही भएन भनेर निराश बन्न हुँदैन । अहिले अकबरे खोर्सानी बेच्नेले पनि करोडौँ कमाएको छ । सब्जी खेती गर्नेले मात्रै लाखौँ कमाउँछ ।’
उनले भने, ‘अन्य देशमा चाहिँ सुनै सुन फल्छ ? गर्न त पर्यो नि ! हेर्नु त खेत बाँझै छ ।’
अध्यक्ष ओलीले एमालेले टिकट तौलिएर दिएको बताउँदै भने ‘भात खाएर चार कोसा केरा खाएर जाँदा पनि भएन भने तौल पुगेन भन्ने सम्झनुपर्यो। लाखौँ कार्यकर्ता भएको पार्टीमा एकरदुई जना अराजक हुनु ठूलो कुरा होइन ।’
झापा ५ को फैसला जनताले गर्ने बताउँदै उनले आफू त्यही फैसला सुन्न चुनावी मैदानमा उत्रिएको बताए । उनले, ‘भने घर भत्काएर मात्रै देश बन्छ ? देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म पुनः झापा ५ मा उम्मेदवार भएर आएको छु ।’
