इन्टरनेटको स्पिडमा आउने भयो ठूलो क्रान्ति, आँखा झिमिक्क् नपार्दै १० फिल्म डाउनलाड हुने

विज्ञान प्रविधि

एजेन्सी, ८ पुस । इन्टरनेटको दुनियाँमा ठूलो उपलब्धि हासिल भएको छ । अब एक पल्ट आँखा झिम्क्याउन लाग्ने समयमा १० वटा ठूला साइजका फिल्म डाउनलोड हुन सक्ने स्पिडको इन्टरनेटको विकास भएको छ ।

अहिले हामीलाई यो कुरा पत्याउन गाह्रो पर्ला, तर जापान र बेलाइतका बैज्ञानिकले ४ लाख ३० हजार गिगाबाइट प्रतिसेकेन्ड स्पिडको इन्टरनेट गतिको उपलब्धि हासिल गरेको समाचार छ । बेलायतको एस्टन युनिभर्सिटी र जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन्स टेक्नोलोजीका वैज्ञानिकहरुले इन्टरनेट स्पीडमा यहीँ अद्भुत उपलब्धि हासिल गरेका हुन्।

यो इन्टरनेट गति यति फास्ट छ कि ८० गिगाबाइटको एउटा गेम केवल १ मिलिसेकेन्ड, अर्थात् एक सेकेन्डको एक हजारौँ भाग बराबरको समयमा डाउनलोड गर्न सकिन्छ।

नयाँ केवुल बिछ्याउनु पनि नपर्ने
यस खोजको सबैभन्दा ठूलो विशेषता भनेको यसका लागि कुनै नयाँ वा विशेष प्रकारको केबल आवश्यक नपर्नु हो। वर्तमान समयमा विश्वभर इन्टरनेट सञ्चालनका लागि जमिनमुनि बिछाइएका ‘स्ट्यान्डर्ड अप्टिक फाइबर’ केबलहरू प्रयोग हुने गरेका छन् । पछिल्लो प्रविधिमा ती केबल परिवर्तन गर्नुका सट्टा डेटा ट्रान्सफरको तरिकामा सुधार गरिएको छ। उनीहरूले प्रकाश तरंगका ती हिस्साहरू प्रयोग गरेका छन् जसलाई पहिले काम नलाग्ने मानिँदै आएको थियो। यस प्रविधिबाट कम ब्यान्डविथमा पनि धेरै बढी डेटा पठाउन सकिने भएको छ।

सेभेन जी अनुसन्धानका लागि महत्वपूर्ण

डेनमार्कमा आयोजित ५१औँ अप्टिकल कम्युनिकेशन सम्मेलनमा प्रस्तुत यस अनुसन्धानले हालको अप्टिकल फाइबर प्रविधिमा अझै ठूलो सम्भावना रहेको देखाएको छ। त्यसैले यसलाई भविष्यको वायरलेस प्रविधि तथा विशेषगरी सेभेन जीको अनुसन्धानका लागि महत्वपूर्ण मानिएको छ। तर वैज्ञानिकहरूका अनुसार यी सबै उपलब्धिहरू नियन्त्रित ल्याबको वातावरणमा प्राप्त भएका हुन्। त्यसैले यसलाई सस्तो, टिकाऊ र व्यापक स्तरमा प्रयोग हुने नेटवर्क प्रविधिमा परिणत गर्न अझै धेरै समय र मेहेनत आवश्यक पर्नेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार