
बर्दिवास, ९ माघ । मानाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी नपर्नु र नेकपा (एमाले) अनि राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनु मिलेमतो भएको आशंका गरिएको छ ।
एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुवेरसिंह गुरुङ उम्मेदवारीबाट पछि हटेका हुन् । रास्वपाका उम्मेदवार अनिल गुरुङले भने मनोनयन नै दर्ता गरेका थिएनन् । कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले प्रतिस्पर्धी उम्मेदवारहरूलाई प्रभावमा पारेर ‘म्यान फिक्सिङ’ गरेको चर्चा हुन थालेको छ । कतिपयले आर्थिक लेनदेनको समेत आशंका गरेका छन् ।
रास्वपाबाट मनाङको टिकट लिएर हिँडेका अनिल गुरुङ मनोनयनको दिन ‘सम्पर्कविहीन’ बनेका थिए । दिनभर उनको मोबाइल स्वीच्ड अफ थियो । गुरुङ मनोनयन दिने भन्दै राति ९ बजे निर्वाचन आयोग कार्यालय मनाङ पुगेका थिए ।
२०७९ को चुनावमा मनाङबाट कांग्रेसका गुरुङले नै जितेका थिए । उनले कडा प्रतिस्पर्धामा एमालेका पोल्देनछोपाङ गुरुङलाई हराएका हुन् । टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देनलाई २ हजार २ सय ४७ मत आएको थियो । तेस्रोमा रहेका रास्वपाका उम्मेदवार मुख्या गुरुङले जम्मा ५ भोट ल्याएका थिए ।
समानुपातिकतर्फ पनि कांग्रेस र एमाले नै प्रतिस्पर्धामा थिए । कांग्रेसको रुख चिन्हमा २ हजार ४ सय ३० मत आउँदा एमालेको सूर्यमा २ हजार १ सय ९१ मत आएको थियो । यस्तै रास्वपाले १४६ र माओवादीले १३३ मत ल्याएका थिए ।
प्रमुख प्रतिस्पर्धी एमालेले नै मैदान खाली गरिदिएपछि कांग्रेसका गुरुङको दावेदारी बलियो बनेको छ । अब प्रतिस्पर्धामा गुरुङसहित मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर घले र नेपाली कम्युनिष्ट पार्टीबाट यशोदा गुरुङको मात्रै बाँकी छन् ।
