टाइगर कप भलिबलमा एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुवात

खेलकूद

पोखरा, ९ पुस । छैटौं टाइगर टप भलिबल अन्तर्गत आजदेखि सुरु भएको खेलमा एपीएफ, आर्मी र न्यु डाइम्नडले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । न्यु डायमन्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्दै सहज सुरुवात गर्‍यो ।

पुरुषतर्फ आर्मीले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा गर्न सफल रह्यो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा नतिजा निकाल्यो ।

आजको अन्तिम तथा तेस्रो खेलमा एपीएफले गण्डकी प्रदेशलाई स्तब्ध पार्‍यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट गण्डकीलाई सुम्पियो ।

तेस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो । चौथो सेटमा एपीएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै सुखद सुरुवात गर्‍यो ।

प्रतियोगिताअन्तर्गत भोलि शनिबार ४ खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ ।

भोलिको दोस्रो खेल महिलातर्फ एपीएफ र थाइल्यान्ड क्विन्सबिच हुने तालिका छ । महिलातर्फको दुई खेलपछि पुरुषतर्फका खेल हुनेछन् ।

पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबीच हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका हुन् ।

माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।

तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार