
काठमाडौं, ९ पुस । आइसिसी महिला टी–२० विश्वकप छनौट अन्तर्गत जिम्बाब्बेसंग नेपालको महत्वपूर्ण खेल हुँदैछ । तीन खेल हारिसकेकाले जिम्बाबेको अगाडि बढ्ने झिनो सम्भावना मात्र बाँकी छ । यसकारण नेपाल र जिम्बाबेबीचको खेल नेपालका लागि सबैभन्दा बढी महत्वपूर्ण रहने अनुमान छ ।
छनोटको सुरुवाती दुई खेलमा हार बेहोरेपछि नेपाली महिला क्रिकेट टोलीलाई अब अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता छ । पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएपछि दोस्रो खेलमा नेदरल्यान्ड्ससँग जितको निकै नजिक पुगेर चुकेको नेपाली टिमले अब तेस्रो खेलमा शनिबार जिम्बाबेसँग खेल्दैछ ।
नेदरल्यान्ड्सविरुद्धको खेल अन्तिम बलमा पुगेर गुमाउँदा क्रिजमा रहेका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता रानामगर भावुक बनेका थिए । त्यहीँबाट पनि पुष्टि हुन्छ त्यो खेल कति महत्वपूर्ण थियो भनेर, किनभने नेपालले खेल मात्र २ रनले गुमाएको थिएन, महत्वपूर्ण २ अंक पनि गुमाएको थियो ।
अब जिम्बाबेविरुद्ध भने कुनै गल्ती नगरी नेपालले २ अंक जोड्ने लक्ष्य राख्नेछ । वरियतामा नेपालभन्दा माथि रहेपनि जिम्बाबेले यस प्रतियोगितामा लगातार तीन खेल हारेर बाहिरिसकेको छ । अन्तिम खेलमा नेपालसँग खेल्दैछ ।
