
काठमाडौं, १३ माघ । नेपालमा फेरी दादुरा संक्रमण देखिएको (आउट ब्रेक)भएको छ। हाल सर्लाहीको मलंगवा नगरपालिकामा दादुरा संक्रमण फैलिएको छ।
मलंगवा नगरपालिका– ३ मा अहिलेसम्म ७ जनामा दादुरा संक्रमण भएको प्रयोगशालाबाट पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अतर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। यस्तै २३ वटा शंकास्पद केस देखिएको छ ।
सुरुमा भेटिएका १६ शंकास्पद बिरामीमध्ये प्रयोगशाला परीक्षणका क्रममा ७ जनालाई प्रयोगशाला परीक्षणमा दादुरा संक्रमण पुष्टी भएको हो। परिवार कल्याण महाशाखा अन्तर्गको खोप शाखाका अनुसार भेटिएका संक्रमितहरु १० देखि १४ वर्ष उमेर समुहका छन। स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवलकिशोर झाका अनुसार दादुरा संक्रमण देखिएको क्षेत्रलाई अहिले उच्च निगरानीमा राखिएको छ।
यसअघि खोप नलगाएकामा देखियो दादुरा
पुस २२ गते पहिलो पटक शंकास्पद बिरामी भेटिएको थियो। प्रयोगशाला परीक्षणका त्रममा माघ ११ मा दादुरा पुष्टी भएको हो। तर हाल दादुरा देखिएका ७ जनाले यसअघि दादुरा बिरुद्धको कुनै पनि खोप नलगाएकोले दादुरा देखिएको क्षेत्र मलंगवा नगरपालिका– ३ वडा अध्यक्ष प्रमोदराय यादवले बताए। वडा अध्यक्ष यादवले भने ‘ केही दिन अघि एकै प्रकारका लक्षण देखिएका बालबालिकाहरु विरामी भएपछि शका लागेर परीक्षण गर्दा दादुरानै भएको पुष्टी भयो । हामीले बुझ्दै जादा दादुरा पुष्टी भएका ७ जना संक्रमित बालबालिकाले यसअघि दादुरा विरुद्धको खोप नलगाएको पाइएको छ।’
हाल संक्रमण देखिएका सात जना बालबालिका सबै घरमानै आइसोलेशनमा रहेको वडा अध्यक्ष यादवले बताए । हाल दादुरा देखिएको उक्त क्षेत्रका स्कुलहरुमा आजबाट खोप अभियान समेत सुरु भइसकेको वडा अध्यक्ष यादवले बताए । दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलङ्गवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताए ।
सो अभियानअन्तर्गत मलङ्गवा–३, २, ४, ८, ९ र १० वडाका ६ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप प्रदान गरिने मलङ्गवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। दादुरा संक्रमणबाट जोगाउन सरकारले जन्मेको यो खोप ९ महिना र १५ महिनाको उमेर समुहका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत निशुल्क रुपमा दादुरा – रुबेला विरुद्धको खोप लगाउदै आएको छ ।
खोप अभियान सन्चालन थालियो
दादुरा आउटब्रेक भएको उक्त क्षेत्रमा खोप अभियान सुरु गर्न लागिएको खोप शाखाले जनाएको छ। खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार हाल दादुरा देखिएको क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोली सहित, स्थानीय स्वास्थ्यकर्मी र प्रनितिधिहरुले थप संक्रमण फैलन नदिन निगरानी गरिरहेको बताए। खोप शाखा प्रमुख डा गौतमले भने ‘ दादुरा आउट ब्रेक भएको क्षेत्रमा थप संक्रमण फैलन नदिन आजै देखि खोप अभियान सन्चालन गरिएको छ।’
यस्तै संक्रमण नियन्त्रणका लागि मन्त्रालय अन्तर्गतको राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र साझेदारसँग समन्वय गर्दै घर घरमा खोजपड्ताल तथा निगरानी गरिरहेको छ। दादुरा संक्रमण देखिएको मलंगवा नगरपालिकाको वडा नं ३ सहित २, ४, ८ र ९ का ६ महिनादेखि १४ वर्ष उमेरका बालबालिकालाई माघ १३ गते (आज) देखि खोप दिन लागिएको महाशाखाले जनाएको छ।
अभियानअन्तर्गत नगरपालिकाका वडा नम्बर २, ३, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्ष उमेर समूहका सबै बालबालिकालाई दादुराविरुद्धको खोप लगाइनेछ । पछिल्ला केही बर्ष यता हरेक बर्ष नेपालमा ठाउँनै पिच्छे दादुरा संक्रमण देखिने गरेको छ। दुई बर्ष अगाडि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको आरुबारीमा रहेको एक गुम्बामा दादुरा फैलिँदा ५४ जनामा संक्रमण देखिएको थियो। अन्य ठाउँमा पनि बेला बेलामा दादुरा देखिदै आएको छ। सन् २०२६ को सुरुवातमा अहिले आएर सर्लाहीमा यो संक्रमण आउट ब्रेक भएको हो ।
सन् २०२३ मा नै नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने नेपाल सरकारको लक्ष्य रहेको थियो तर सफल भएको छैन। सन् २०२३ मा नेपालमा दादुरा रुबेला रोगको अन्त्य गर्ने लक्ष्य राखिएको भए पनि १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जबाट ‘आउट ब्रेक’ भएको पछि रोकिएको थियो । त्यसपछि दादुरा संक्रमण फैलिन थालेपछि सरकारले पुनः सन् २०२६ सम्म नेपाललाई दादुरा तथा रुबेलामुक्त देश बनाउने लक्ष्य लिएको भए पनि यसबिचमा केही ठाउँहरुमा दादुरा आउट ब्रेक भएपछि गत भदौमा विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग मात्रै निवारण भएको घोषणा गरेको थियो।
संगठनको क्षेत्रीय प्रमाणिकरण आयोगको २०८२ साउन ६ गतेदेखि ८ गतेसम्म भएको वार्षिक बैठकले नेपालको राष्ट्रिय प्रमाणिकरण समितिले पेश गरेको रोग निगरानी र खोप कभरेज दरसम्बन्धी तथ्याङ्क तथा विवरणको समिक्षा तथा मूल्याङ्कन गरी नेपालमा रूबेला निवारण भएको प्रमाणित गर्न सिफारिस गरेर नेपाललाई रुबेला मात्रै निवारण भएको घोषणा गरेको थियो ।
तर अहिले आएर सन् २०२६ को सुरुवातिमानै सर्लाहीमा दादुरा आउट ब्रेक भएपछि यो बर्ष पनि दादुरा निवारण हुन गाह्रो छ। हावाको माध्यमबाट छिटो फैलने हुँदा दादुराको एक केसलाई नै महामारीको रूप लिने गरिन्छ। मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो। रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला। तर यी दुवैको को केही समान लक्षणहरु हुने खोप शाखा प्रमुख डा गौतमको भनाइ छ।
के हो दादुरा ?
दादुरा श्वासप्रश्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको सरुवा रोग हो। मिजल्स भाइरसको संक्रमणको कारण यो रोग लाग्ने गर्छ। खासगरी यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ। दादुराले फोक्सोको संक्रमण भएपछि निमोनिया, मस्तिष्कको संक्रमण, मुटुको संक्रमण, कलेजोको संक्रमण‚ मिर्गौलाको संक्रमण, कानको संक्रमण, आँखाको संक्रमण र रगतमा प्लेटलेटको मात्रा कम गराई रगत बग्ने जस्ता जटिल खालका स्वास्थ्य समस्या निम्त्याउँछ।
दादुरा रोग लागेका बालबालिकालाई पोषिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ। दादुरा रोग अतिसंक्रमित रोग भएकाले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट संक्रमित हुन्छन्। दादुरा रोगीको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आउँदा, हाच्छ्युँ गर्दा र खोक्दा यसका विषाणु हावामा फैलिन्छन् र यो रोग सर्ने गर्दछ।
