बालेन लक्षित ओलीको टिप्पणी – ‘ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको’

banner

काठमाडौं, १७ माघ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालेन लक्षित टिप्पणी गर्दै ‘ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको’ बताएका छन् । उनले थपे‘ ‘मैले धेरै केही भन्नु पर्दैन । अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको अण्डा । बतासे अण्डाबाट चल्ला निस्किँदैन ।’ ओलीले भने, ‘यी बतासका खेती गरिरहेका छन् । यिनीहरुसँग संगठन छैन, उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो कि होइन, त्यो पनि थाहा छैन ।’

शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा( काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुले देशलाई विजयी बनाउनु हुनेछ, १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन ।’

ओलीले फागुन २१ मा चुनाव हुन्छ कि हुन्न भन्ने अझै टुंगो नभएको बताए । उनले भने, ‘हिमाली भेगमा मान्छे नै छैन। मान्छे नै नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ ? ४ हजार मान्छे भएको ठाउँमा ४ जनाले भोट हालेर के हुन्छ ? चुनावमा नाटक मात्रै हुन्छ। उच्च पहाडी र हिमाली भेगमा भोट हुनेवाला नै छैन।’

उनले भदौ २३ र २४ गते देशलाई भयानक सङ्कटमा पार्नको लागि उत्पात मच्चाइएको आरोप लगाए।

असंवैधानिक सरकारले विघटन गरेको संसदबारे सर्वोच्च अदालत कानमा तेल हालेर बस्न नमिल्ने बताए। उनले संसद् पुनर्स्थापनाको मुद्दाबारे चाँडो फैसला गर्न माग गरे।

उनले भने, ‘अदालतले तत्काल फैसला दिनुपर्छ चुनाव गर्ने कि पुनर्स्थापना गर्ने, हामीले पुनर्स्थापनाको माग गरिरहेका छौँ त्यो सुन्दै नसुन्ने, संविधान मिचिएको छ भनिरहेका छौँ हामी। अदालतले बोल्नुपर्‍यो, संविधान मिचिएको छैन भने पनि मिच्न पाइन्छ भने पनि अदालतले भनेपछि हामी मान्छौँ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार