निर्वाचनको मुखमा जनमत पार्टीमा ठूलो पहिरो, केन्द्रदेखि जिल्लाका सम्मले बुझाए राजीनामा

banner

बर्दिवास, २१ माघ । निर्वाचन आउन अब गलभग १ महिना बाँकी हुँदा जनमत पार्टीमा ठूलै पहिरो गएको छ । यो पार्टीका केन्द्रदेखि जिल्ला तहसम्मका नेताले सामूहिक राजीनामा बुझाएका छन् । उनीहरूले पार्टीको केन्द्रीय कार्यालय, काठमाडौँमा औपचारिक पत्रमार्फत राजीनामा बुझाएका हुन्।

राजीनामा पत्रमा उल्लेख गरिएअनुसार लोकतन्त्र, समानता, समावेशिता र न्यायजस्ता मूल्य–मान्यतामा विश्वास गर्दै पार्टीमा जिम्मेवारी सम्हाले पनि पछिल्लो समय पार्टीभित्र विचार सिद्धान्तको निरन्तर उल्लङ्घन भएको उनीहरूको आरोप छ। पार्टी नेतृत्वको कार्यशैली, जातीय विभेदलाई प्रश्रय दिने गतिविधि तथा गैर–राजनीतिक व्यक्तिहरूको प्रभाव बढ्दै गएको अवस्थाले पार्टीको भविष्य सङ्कटमा परेको अनुभूति भएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

राजीनामा दिनेहरूमा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रानीकुमारी पासमान, केन्द्रीय सदस्यहरू रामेश्वर यादव र जोगेश्वर यादव तथा सिराहा जिल्लाका सह–संयोजक किशोर पासमान रहेका छन्। राजीनामा पत्रमा हालसम्मको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आफ्ना यात्राबारे छुट्टै जानकारी गराइने पनि उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार