
काठमाडौं, २२ माघ । छिमेकी देश भारतमा ज्यादै सक्रामक मानिएको निपाह भाइरस संक्रमका केशहरु पुष्टी भएपछि नेपाल पनि उच्च जोखिममा परेको छ।जसले गर्दा सरकारले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्न आमजनतालाई निर्देशन समेत जारी गरिसकेको छ।
यता सवास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले निपाहको समयमै पहिचान र नियन्त्रणका लागि नमुना संकलन तथा परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै देशभरका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता समेत रहेका आपतकाल स्वास्थ्य विपद् व्यवस्थापन एकाइका प्रमुख डा प्रकाश बुढाथोकीले बताए।
‘ खुल्ला सिमाना जोडिएको दैनिक धेरै मानिस आवतजावत गर्ने हुँदा भारतमा देखिएको संक्रमण हाम्रोमा पनि आउने जोखिम धेरै हुन्छ त्यसैले हामीले सबैखाले स्वास्थ्य संस्थाहरुलाई हाइअलट रहन भनेका छौँ र जनतालाई पनि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्न आग्रह गर्छौ’ डा बुढाथोकीले भने।
यता ईडीसीडीले जारी गरेको निर्देशिकामा ज्वरोसँगै गम्भीर श्वासप्रश्वास समस्या, चेतनास्तरमा परिवर्तन देखिएका तथा भर्खरै निपाह प्रभावित क्षेत्रबाट आएका व्यक्तिलाई ‘शंकास्पद निपाह केस’का रूपमा वर्गीकृत गरेर परिक्षण गर्ने उल्लेख गरिएको छ। यस्ता व्यक्तिलाई तुरुन्त आइसोलेसनमा राखी अस्पताल भर्ना गरिने र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० प्रयोग गर्ने व्यवस्था गरिएको छ।
यसअघि जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुईजना नर्सहरूमा निपाह भाइरसको संक्रमण पुष्टी भएको छ। दुवै नर्सहरू नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एकजना कोमामा र अर्की भेन्टिलेटरमा छन्। यी केसहरू १९ वर्षपछि पश्चिम बंगालमा निपाहको पुनरागमन हो ।यसअघि सन् २००१ र २००७ पनि भारतमा निपाह भाइरस संक्रमण देखिएको थियो।
नेपालमा हाल सम्म निपाह भाइरसको कुनै पनि केश पुष्टि भएको छैन।
फलफूल र चमेराबाट सर्छ निपाह भाइरस
निपाह भाइरस एक जूनोटिक (पशुबाट मानिसमा सर्ने) भाइरस हो जसले गम्भीर रोग निम्त्याउने हुँदा बेलैमा सतर्क रहनु पर्ने बताउँछन सरुवा रोग विशेषज्ञ समेत रहेका टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोला । उनले भने ‘ निपाह एकएक जूनोटिक भाइरस संक्रमण हो यो मुख्य रूपमा फ्रुट ब्याट फलफूल खाने चमेरो मा प्राकृतिक रूपमा पाइन्छ। यसको संक्रमण भएका मानिसहरुमा ०.५० प्रतिशत मा कुनै समस्या नदेखिन सक्छ तर समस्या देखिएका बिरामीहरुमा मृत्युदर ४०–७५ प्रतिशत सम्म पुग्न सक्छ। मुख्य गरेर यसले मस्तिष्कमा समस्या (एन्सेफलाइटिस) गराउदछ त्यसैले मानव स्वास्थ्यको लागि यो संक्रमण निकै घातक मानिन्छ’।
कसरी सर्छ ?
डा बास्तोलाका अनुसार बिशेषगरी यो संक्रमण सर्ने जोखिम फल खाने चमेरो (फ्रुट ब्याट) बाट, संक्रमित सुँगुर वा मानिसको सम्पर्कबाट र न्युरोलोजिकल सिम्टमबाट र संक्रमित व्यक्तिको श्वास वा थुकबाट (नजिकको सम्पर्कमा)बाट यो संक्रमण सर्ने गर्छ।
यदी निपाह भाइरस मानव शरिरमा छिरेको अवस्थामा भने ४ देखि १४ दिन सम्ममा लक्षण देखाउने डा बास्तोलाको भनाइ छ। यो भाइरस संक्रमण भएमा विशेषगरी ज्वरो सहितको टाउको दुख्ने, मांसपेशी दुख्ने, घाटी दुख्ने,वाकवाकी, बेहोस हुने, मस्तिष्कमा समस्या ९एनसेफलाइटिस० हुने जस्ता समस्या देखिने गर्छ।
बच्न के गर्ने त ?
यदी भर्खरै निपाह भाइरस संक्रमण देखि रहेको क्षेत्रमा पुगेर फर्किएको हो भने केही दिन घरमानै आइसोलेशनमा बस्ने गर्नु पर्छ। यस्तै कुनै जनावर विशेषगरी चमेरोले टोकेको फलफुल खानु हुँदैन। काँचो खजुरको जुस पिउनु हुँदैन । यस्तै जनवारहरुको सम्पर्कमा जादा सतर्क रहने सकेसम्म पिपिइको अनिवार्य प्रयोग गर्ने गर्नु पर्छ। हात धुने, मास्क लगाउने । सुँगुर फार्ममा सावधानी अपनाउने। ज्वरो–टाउको दुखाइ भए तुरुन्त अस्पताल जाने गर्नु पर्छ।
यो भाइरसको अहिले कुनै खोप वा विशेष औषधि छैन, त्यसैले रोकथाम नै उत्तम उपाय भएकाले सर्तकता अपनाउनुनै मुख्य उपाय भएको डा बास्तोलाको भनाइ छ। यता निपाह भाइरसको जोखिम बढेको समयमा यस्तो जोखिम समूहमा पर्ने व्यक्तिमा गम्भीर लक्षण देखिएमा ‘सम्भावित निपाह केस’ मानेर थप कडा निगरानी गरिने ईडिसिडीले जारी गरेको निर्देशिकामा उल्लेख छ ।
नमुना संकलन गर्दा घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे सीएसएफ संकलन गरिनेछ । संकलित नमुनालाई जैविक सुरक्षाका मापदण्ड पालना गर्दै २–८ डिग्री सेल्सियस तापक्रममा ‘ट्रिपल प्याकेजिङ’मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ९एनपीएचएल० पठाइनेछ । त्यहाँ उच्च सुरक्षा प्रयोगशालामा रियल–टाइम पीसीआर परीक्षणमार्फत निपाह भाइरसको पहिचान गरिने व्यवस्था छ ।
ज्वरो आउने, सास फेर्न गाह्रो, बेहोस हुनेजस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
