रूवल नागीले जितिन् १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार

अन्तराष्ट्रिय

एजेन्सी, २२ माघ । भारतमा सयौँ सिकाइ केन्द्र स्थापना गरी झुपडीहरूको भित्तामा शैक्षिक भित्तेचित्र बनाउने शैक्षिक तथा सामाजिक कार्यकर्ता रूबल नागीले बिहीबार १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार जितेकी छन् । नागीले दुबईमा विश्व सरकारको शिखर सम्मेलनमा पुरस्कार स्वीकार गरेकी हुन् ।

यो वार्षिक कार्यक्रमले विश्वभरका नेताहरूलाई आकर्षित गर्दछ । नागी आर्ट फाउन्डेसनमार्फत उनले भारतभरि ८०० भन्दा बढी सिकाइ केन्द्रहरू स्थापना गरेकी छन्, जहाँ कहिल्यै विद्यालय नजाने बालबालिकाहरूले संरचित शिक्षा पाउन सक्नेछन् र पहिले नै स्कुलमा रहेका बच्चाहरूलाई पनि पढाइन्छ ।

नागीले साक्षरता, विज्ञान, गणित र इतिहास सहितका विषयहरू सिकाउने भित्तेचित्रहरू बनाउँछिन् । यसले बालबालिकाको शिक्षा र सिर्जनात्मक क्षमता बढाउँछ । उनले पुरस्कारबाट प्राप्त १० लाख डलर निःशुल्क व्यावसायिक प्रशिक्षण प्रदान गर्ने संस्थान निर्माणमा प्रयोग गर्ने योजना बनाएकी छन् ।

ग्लोबल शिक्षक पुरस्कार वार्की फाउन्डेसनद्वारा प्रदान गरिन्छ । यसका संस्थापक सन्नी वार्कीले इजिप्ट, कतार र संयुक्त अरब इमिरेट्समा दर्जनौँ विद्यालय सञ्चालन गर्ने नाफामूलक जीईएमएस शिक्षा कम्पनी स्थापना गरेका थिए । यो पुरस्कार सन् २०१५ देखि प्रदान हुँदै आएको हो र नागी यसका १० औँ विजेता भइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार