
एजेन्सी, २६ माघ । प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा जापानको सत्तारुढ पार्टी आइतबारको ‘स्न्याप इलेक्सन’ (आकस्मिक निर्वाचन)मा भारी बहुमततर्फ अग्रसर भएको छ ।
ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतृत्वमा रहेको गठबन्धनले जापानको प्रतिनिधिसभाका ४६५ सिटमध्ये ३५२ सिट जितेको सार्वजनिक प्रसारक एनएचकेले संकलित तथ्यांकले देखाएको छ, जसमा एलडीपीले एक्लै ३१६ सिटको बहुमत हासिल गरेको छ ।
देशकी पहिलो महिला प्रधानमन्त्रीले पार्टी नेता बनेको चार महिनामै चुनाव घोषणा गर्दै स्पष्ट जनादेश खोजेकी थिइन् । उनको यो सफलता दुई अघिल्ला उत्तराधिकारीहरूको अवस्थासँग ठीक विपरीत देखिएको छ । यसअघि भ्रष्टाचार र बढ्दो खर्चका कारण पार्टीले संसदीय बहुमत गुमाएको थियो ।
ताकाइचीले पार्टीले बहुमत नपाएमा राजीनामा दिने वाचा गरेकी थिइन् । केहीले यो ‘स्न्याप’ निर्वाचनलाई ठूलो जुवा मानेका थिए ।
एलडीपीले २०२४ मा संसद्का दुवै सदनमा बहुमत गुमाएको थियो । दसकौँ पुरानो कोमेइतो पार्टीसँगको गठबन्धन कमजोर बनेको थियो ।
तर, ताकाइचीको व्यक्तिगत लोकप्रियताले पार्टीलाई पुनः उकासेको देखिन्छ, जसको सरकारको स्वीकृति दर ७० प्रतिशतभन्दा माथि नै रहँदै आएको छ ।
एलडीपीको वर्तमान गठबन्धन साझेदार जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ । विपक्षीहरूले संयुक्त रूपमा ११३ सिट जितेको एनएचकेको तथ्यांकले देखाएको छ ।
आधिकारिक रूपमा पुष्टि भएपछि यो चुनावी सफलताले ताकाइचीलाई आफ्नो संरक्षकवादी एजेन्डा अघि बढाउन व्यापक आधार प्रदान गर्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अनुमानित जितमा ताकाइचीलाई बधाई दिइसकेका छन् । उनलाई उच्च सम्मानित तथा अत्यन्त लोकप्रिय नेत्री भनेका छन् ।
‘तपाईंको संरक्षकवादी, शक्तिमार्फत शान्ति एजेन्डा पारित गर्न ठूलो सफलताको शुभकामना,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।
उनले थपे, ‘उत्साहका साथ मतदान गर्ने जापानका अद्भूत जनताले सधैँ मेरो बलियो समर्थन पाउनेछन् ।’
अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ताकाइचीको ठूलो जितलाई स्वागत गर्दै जापान बलियो हुँदा एसियामा अमेरिका बलियो हुने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो ऐतिहासिक नतिजाका लागि ताकाइचीलाई बधाई दिँदै भारत–जापान मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
