चिकित्सा विज्ञानमै दुर्लभ मानिने ‘अलकापा’ टाकउचीको गंगालालमा सफल शल्यक्रिया

banner

काठमाडौं, २६ माघ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुमा देखिने दुर्लभ समस्या ‘अलकाप’ को सफल टाकेउची ’ शल्यक्रिया गरिएको छ। चिकित्सा विज्ञानमा निकै दुर्लभ मानिने यो शल्यक्रिया केन्द्रमा जन्मजात जटिल मुटुरोगबाट पीडित १० वर्षीया बालिकामा गरिएको हो।

केन्द्रका मुटु शल्यचिकित्सक डा रविन्द्रभक्त तिमलाको नेतृत्वमा भएको मुटुको उक्त ‘टाकेउची’ शल्यक्रिया प्रारम्भिक शल्यक्रियाको क्रममा अपेक्षित संरचना नमिल्दा छाती बन्द गरी थप अध्ययन र छलफल पछि दोस्रो चरणमा शल्यक्रिया सफल भएको बताइएको छ।

उक्त शल्यक्रियकाको नेतृत्व गरेका डा तिमलाले भने ‘ बालबालिकामा हुने जन्मजात मुटुरोगको शल्यक्रियमा मध्य ‘टाकेउची’ निकै जटिल र दुर्लभ मानिन्छ, तर हामीले एउटा बालिकामा यसको सफल शल्यक्रिया गरेका छौँ, अहिले उक्त बालिका स्वास्थ्य लाभ गरेर घर समेत फर्कि सकेकी छन।’

डा तिमलाका अनुसार उक्त शल्यक्रिया गरेकी उक्त १० बर्षे ती बालिका ‘अलकापा (एनोमोलोस ओरिजिन अफ लेफ्ट कोरोनरी आर्टरी फ्रम पल्मोनरी आर्टरी) नामक दुर्लभ जन्मजात मुटुरोगबाट ग्रसित थिइन्। मुटु सम्बन्धी यो समस्या करिब तीन लाख जीवित शिशु मध्ये एक बालबालिकामा यो समस्या हुने अनुमान छ।

यस रोगमा मुटुको देब्रे कोरोनरी आर्टरी दाँया पल्मोनरी आर्टरीबाट निस्कन्छ। यो खालको मुटुको बनावटमा अतिनै दुर्लभ मानिन्छ। पल्मोनरी आर्टरीको रक्तचाप कम हुने भएकाले यो सम्बधी समस्याले मुटुको ठूलो भागमा पर्याप्त रक्तसञ्चार हुन सक्दैन ।

यसका कारण उक्त बालिकामा छाती दुख्ने, चाँडै थकान हुने र माइटूल भल्भबाट रगत चुहिने समस्या देखिएको थियो। जसले गर्दा उक्त बालिकाले तीन वर्षदेखि मुटुको वाथरोगको आशंकामा औषधि खाइरहेकी ती बालिकाको पछिल्लो इको परीक्षणमा बाथरोग नभई अलकापा रहेको कुरा बाल मुटुरोग विशेषज्ञ डा। शिल्पा अर्यालले पत्ता लगाएकी थिइन्।

त्यस पछि केन्द्रको नियमित प्रक्रिया अनुसार बाल मुटु युनिट, बाल मुटु शल्यचिकित्सा युनिट र बाल आईसीयूको संयुक्त छलफलपछि शल्यक्रिया गर्ने निर्णय गरिएको थियो। तर पहिलो पटक छाती खोलेर हेर्दा विकृत कोरोनरी धमनी महाधमनीसँग असामान्य रूपमा टाँसिएको, पल्मोनरी आर्टरीको दायाँ हाँगाको उत्पत्तिसँग अत्यन्त नजिक रहेको र सामान्य ‘अलकापा मा गरिने प्रविधिबाट अपरेशन गर्न नमिल्ने देखियो। त्यस पछि छाती बन्द गरी थप अध्ययन र विस्तृत छलफल पश्चायत चार दिनपछि टाकेउची प्रविधिबाट शल्यक्रिया गरिएको थियो।

के हो ‘टाकेउची’ शल्यक्रिया ?
डा तिमलाका अनुसार मुटुको आफ्नै रक्तनलि महाधमनीबाट आउनुपर्ने कोरोनरी धमनी पल्मोनरी आर्टरीबाट आएको अवस्थामा ‘टाकेउची’ (TAKEUCHI) शल्यक्रिया गरिन्छ। यसमा कोरोनरी धमनीलाई यथा स्थान मै राखी महाधमनी र पल्मोनरी आर्टरीबीच मार्ग बनाइन्छ। पल्मोनरी आर्टरी भित्रै ‘पर्खाल’ निर्माण गरी महाधमनीबाट आएको रगत कोरोनरी धमनी सम्म पुऱ्याइन्छ।

शल्यक्रियामा विकृत कोरोनरी धमनीलाई जहाँको त्यही राखी महाधमनीबाट रगत पुयाउन गरिने यो मुटुको शल्यक्रियानै ‘टाकेउची प्रविधी’ शल्यक्रिया हो। शल्यक्रिया पछि गरिएको इको परीक्षणमा मुटुको संकुचन क्षमतामा सुधार देखिनुका साथै माइटूल भल्भको चुहावट पनि घटेको पुष्टि देखिए पछि उक्त शल्यक्रिया सफल भएको डा तिमलाले बताए।

‘अलकापा’ फैंमा दुर्लभ रोग हो। उपलब्ध तथ्यांक अनुसार करिब तीन लाख जीवित शिशु मध्ये एकमा मात्र यो रोग देखिन्छ। त्यसमा पनि मुटुको देब्रे कोरोनरी धमनी दायाँ पल्मोनरी आर्टरीबाट निस्कनु अत्यन्तै दुर्लभ मानिन्छ। हालसम्म प्रकाशित मेडिकल लिटरेचरमा विश्वभर ४०–५० जनामा मात्र यस्तो संरचनागत विकृति वर्णन गरिएको छ।

यस जटिलताका कारण कुन शल्यप्रविधि उपयुक्त हुन्छ भन्नेमा चिकित्सकहरू बीच एकमत छैन। ‘टाकेउची’ शल्यक्रियाको दीर्घकालीन प्रभाव अझै अध्ययनको विषय रहेको डा. तिमलाले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार