
बर्दिवास, २७ माघ । रामेछापको मन्थली नगरपालिका त्रिवेणी नजिकै तामाकोशी नदीमा खसेको यात्रुबाहक बसबाट ४ जनाको शव निकालिएको छ । १० जनाभन्दा बढीको उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजनप्रसाद तिम्सिनाले बताए ।
‘उद्धारको संख्या अझै बढी छ । बीचमा अड्किएकाहरूलाई पनि आफ्नै हिसाबले कतिले अस्पताल लगेका छन् । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । हामी उद्धारमै छौँ । विस्तृत विवरण आउन समय लाग्छ’, तिम्सिनाले भने ।
काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको अरनिको यातायात तामाकोशीमा खसेको हो । रामेछापका सीडीओ श्यामकृष्ण थापाले काउन्टरबाट ८ जनाको टिकट काटेको पाइए पनि बीचबीचमा अरु यात्रु चढेकाले बसमा जम्मा कति जना थिए यकिन नभएको बताए ।
उद्धार जारी नै रहेकाले मृत्यु र घाइतेको विवरण अहिले प्राप्त भइनसकेको सीडीओ थापाको भनाइ छ ।
