
काठमाडौं, २९ माघ । टी –२० विश्वकप क्रिकेटमा पहिलो पटक विश्वकप खेलिरहेको इटालीसंग लज्जास्पद पराजय भएको छ । टस जितेर पहिले बल रोजेको इटालीले १२ ओभरमै नेपालले दिएको १२४ रनको झिनो लक्ष्य भेटेपछि नेपालको १० विकेटको लज्जास्पद हार भएको हो ।
जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । ४४ बल खेलेका जस्टिनले ५ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै, एन्थोनीले ३ चौका र ६ छक्का हिर्र्काए । नेपालका कुनै पनि बलर चल्न सकेनन् र विकेटविहिन बने ।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९।३ ओभरमा १२३ रनमै अलआउट भयो ।
आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् । यो हारसंगै नेपालको सुपर ८ मा पुग्ने सपना यसपटक पनि अधुरै रहने लगभग पक्काजस्तै बनेको छ ।
