३१ लाख जनतामा ३ राष्ट्रपति र १३ प्रधानमन्त्री हुँदा पनि झगडा उस्तै

रोचक समाचार

जेन्सी, ८ फागुन । बोस्निया र हर्जगोभिना नामको देश विश्वका दुर्लभ देशमध्ये एक हो, जहाँ तीन राष्ट्रपति (त्रिपक्षीय राष्ट्रपति परिषद्) को व्यवस्था छ । डेटन शान्ति सम्झौताले युद्ध त रोक्यो, तर देशमा स्थायी स्थिरता र एकीकृत पहिचान अझै चुनौतीपूर्ण छ । अझै त्यहा हारजितको हिसाब हुदै गरेको देखिन्छ ।

१९९० को दशकको सुरुवातमा कम्युनिज्मको पतन र युगोस्लाभियाको विघटनसँगै बोस्नियामा संकट सुरु भयो । १९९२ मा भएको स्वतन्त्रता जनमतसंग्रहमा बोस्नियाक र क्रोएटहरूको समर्थनमा देश स्वतन्त्र घोषित भयो, तर सर्ब समुदायले यसको विरोध गर्‍यो ।

यही विरोधले १९९२–१९९५ सम्म चलेको भीषण गृहयुद्ध जन्मायो । बोस्नियाली मुसलमान ९बोस्नियाक०, सर्ब र क्रोएटबीच जातीय आधारमा लडाइँ भयो । सर्ब बलहरूले ठूलो भूभाग नियन्त्रणमा लिए, जातीय सफाया, बलात्कार, हत्या र जबर्जस्ती विस्थापन व्यापक भयो । १९९५ मा स्रेब्रेनित्सामा भएको ८ हजार भन्दा बढी बोस्नियाक पुरुषहरूको नरसंहार आधुनिक युरोपकै सबैभन्दा भयावह अपराध मानिन्छ ।

तीन वर्षको रक्तपातपूर्ण युद्ध अन्त्य गर्दै १९९५ मा अमेरिकाको राइट(प्याटरसन एयर फोर्स बेसमा वार्ता भई अन्ततः १४ डिसेम्बर १९९५ मा पेरिसमा सम्झौतामा हस्ताक्षर गरियो ।यसैलाई डेटन शान्ति सम्झौता भानिन्छ । यही सम्झौताले आजको बोस्निया–हर्जगोभिनाको राज्य संरचना निर्माण गर्‍यो । सम्झौताअनुसार देशलाई दुई प्रमुख इकाइमा विभाजन गरियो । फेडेरेसन अफ बोस्निया–हर्जगोभिना ‘एफबीआईएच’ (बोस्नियाक–क्रोएट बहुल) र रिपब्लिका स्र्प्स्का ‘आरएस’ (सर्ब बहुल )।

साथै, विवाद समाधानका लागि ब्र्च्को डिस्ट्रिकलाई यी दुई क्षेत्र भन्दा अलग ,तटस्थ र स्वायत्त प्रशासनिक इकाइ बनाइयो । शान्ति कार्यान्वयनको निगरानीका लागि अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधि निकाय ‘ओएचआर’ स्थापना गरियो । यो सम्झौताले देशको संविधानको रूपमा पनि काम गर्‍यो । जसले बोस्नियालाई विकेन्द्रित राज्यको रूपमा परिभाषित गर्‍यो ।

युद्ध त रोकियो, तर डेटन सम्झौताले बनाएको राज्य संरचना अत्यन्त जटिल बन्यो । बोस्निया–हर्जेगोभिना औपचारिक रूपमा संघीय हो कि परिसंघीय भन्ने विषय संविधानमा स्पष्ट छैन । केन्द्र कमजोर छ, जबकि इकाइहरू अत्यन्त शक्तिशाली छन् । यही संरचनाले आजसम्म राजनीतिक अस्थिरता जन्माइरहेको छ ।

बोस्नियाको सबैभन्दा अनौठो विशेषता भनेको तीन जना राष्ट्रप्रमुख (राष्ट्रपति परिषद्) को व्यवस्था हो । यहाँ एकल राष्ट्रपति हुँदैन । बोस्नियाक, क्रोएट र सर्ब समुदायबाट एक–एक जना गरी तीन सदस्यीय राष्ट्रपति परिषद् हुन्छ । निर्वाचनमा जनताले एकैपटक मतदान गर्छन्, तर एक नागरिकले तीनैलाई भोट हाल्न पाउँदैन ।

फेडेरेसन क्षेत्रमा रहेका मतदाताले बोस्नियाक वा क्रोएट उम्मेदवारमध्ये एक(एक लाई छान्छन् । बोस्नियाक मतदाताले क्रोएट उम्मेदवारका लागि मतदान गर्न सक्दैनन् र क्रोएट मतदाताले बोस्नियाक उम्मेदवारका लागि मतदान गर्न सक्दैनन् । रिपब्लिका स्र्प्स्काका मतदाताले सर्ब उम्मेदवार छान्छन् । यी तीनै राष्ट्रप्रमुख बराबर हैसियतमा हुन्छन् र अध्यक्षता आठ–आठ महिनामा पालैपालो बदलिन्छ । निर्णय प्रक्रियामा सहमति आवश्यक पर्ने भएकाले यो प्रणाली समावेशी भए पनि निर्णय ढिलाइ र राजनीतिक अवरोधको समस्या रहन्छ ।

राज्यको स्वायत्तताको आधार जातीय र क्षेत्रीय शक्ति बाँडफाँड हो । दुई इकाइसँग आफ्नै सरकार, संसद, प्रशासन, प्रहरी र आन्तरिक नीति अधिकार छन् । फेडेरेसन अफ बोस्निया–हर्जेगोभिना भित्रै १० वटा क्यान्टोन छन् । जसले शिक्षा, स्वास्थ्य, प्रहरी जस्ता विषयमा अधिकार राख्छन् । रिपब्लिका स्र्प्स्का भने अत्यन्त केन्द्रीकृत इकाइ हो, जहाँ क्यान्टोन छैन । ब्र्च्को जिल्ला भने दुवै इकाइबाट अलग, प्रत्यक्ष राज्यअन्तर्गत शासित हुन्छ ।

संसदीय संरचना पनि बहुस्तरीय छ । राज्य तहमा दुई सदन भएको संसद छ । प्रतिनिधिसभा र जनसमुदाय परिषद् । यसैगरी, दुवै इकाइका आ–आफ्ना संसद् छन् । सरकार गठन जातीय सन्तुलन र सहमतिमा आधारित भएकाले साधारण कानुन पारित गर्न पनि लामो समय लाग्ने गर्छ । करिब एकतीस लाख जनसंख्या भएको देशमा तीन जना राष्ट्रपति, आरएस, ‘एफबीआईएच’ का १० कान्टोन र राज्य स्तरको प्रधानमन्त्री मिलाएर जम्मा १३ जना प्रधानमन्त्री, १८० भन्दा बढी मन्त्री र ७०० भन्दा बढी सांसद छन्।

सम्झौताले गृहयुद्ध रोक्ने र शान्ति कायम गर्ने काम गरे पनि, देशको संघीय संरचना अत्यन्त जटिल र जातीय आधारमा विभाजित भएका कारण राजनीतिक अस्थिरता कायम रह्यो । यहाँका राजनीतिक नेताहरू प्रायः जातीय स्वार्थअनुसार संघीयताको दुरुपयोग गर्छन् । सर्ब नेताहरू आफ्नो इकाइ रिपब्लिका स्र्प्स्कालाई मुख्य आधार मान्दै केन्द्रीय सरकारलाई बेवास्ता गर्छन् र बढी स्वायत्तताको माग गर्छन् ।

क्रोएट नेताहरू फेडेरेसनभित्रको आफ्नो हैसियतप्रति सन्तुष्ट छैनन् र तेस्रो ९क्रोएट–प्रधान० इकाइ बनाउन चाहन्छन् । बोस्नियाक नेताहरूले क्षेत्रीयता र संघीयताको बीच स्पष्ट भिन्नता गर्न सकेका छैनन् र कहिलेकाहीँ केन्द्रीय सरकारलाई बलियो बनाउने प्रयास गर्छन् ।

यी सबै कारणले युद्धपछिका तीन दशक बितिसक्दा पनि बोस्निया–हर्जगोभिनाको संघीय संरचना असन्तुलित, कमजोर र विवादास्पद नै छ । यसले शान्ति सुरक्षित राखेको छ तर शासन सञ्चालनलाई चुनौतीपूर्ण बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार