टी –२० विश्वकप – इङ्ल्याण्डविरुद्ध श्रीलंका निरीह

खेलकूद

एजेन्सी, १० फागुन । जारी टी–२० विश्वकको सुपर आठ अन्तर्गत इंग्ल्यान्डले आयोजक श्रीलंकालाई पराजित गरेको छ । आइतबार दिउसो सम्पन्न खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले हराएको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको घरेलु टोलि १६.४ ओभरमा ९५ रनमै अलआउट भयो ।

उसका लागि कप्तान दासुन शनाकाले सर्वाधिक ३० रन जोडे । यस्तै, कामिन्दु मेन्डिसले १३, दुनिथ वेल्लालागेले १० तथा महिश तिक्षणा १० रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ इंग्ल्यान्डका विल ज्याक्सले तीन, जोफ्रा आर्चर, लियाम डासन र आदिल राशिदले दुई–दुई विकेट लिए भने जेमी ओभरटनले एक सफलता हात पारे ।

त्यसअघि पल्लेकेले मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन जोड्यो ।

ओपनर फिल साल्ट बाहेक अन्य ब्याटर चल्न सकेनन् । उनले ४० बलमा ६२ रन जोडे । विल ज्याक्सले २१, ह्यारी ब्रुकले १४, साम करनले ११ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका दुनिथ वेल्लालागेले तीन तथा दिलशान मदुशन्का र महिश तिक्षणाले दुई–दुई तथा दुश्मन्था चमिराले एक विकेट लिए ।

सुपर आठमा यी दुई टोलि समूह २ मा रहेका छन् । जसमा पाकिस्तान र न्यूजिल्यान्ड पनि परेका छन् । शीर्ष दुई टोलिले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार