
काठमाडौं, १० फागुन । निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई सम्बन्धित पालिकाभित्र दलीय चुनावी प्रचारमा नहिंड्न आग्रह गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार प्रसारमा सहभागी भएको उजुरी तथा गुनासो प्राप्त भएको जानकारी दिएका छन् ।
यस विषयमा निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचनमा स्वतन्त्रता, स्वच्छता निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख सबै जिम्मेवार हुनुपर्ने बताएको हो ।
निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) अनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्वन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् । अन्यथा आचारसंहिता विपरीत हुने आयोगले जनाएको छ ।
