
काठमाडौं, ११ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि तहका स्वास्थ्यकर्मीलाई स्वास्थ्यकर्मीहरुलाई नखटाउन निर्वाचन आयोग पत्राचार गरेको छ।
मन्त्रालयले नियमित र विशेष परिस्थितिमा देखा पर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्येनजर गर्दै स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामै व्यस्त हुनुपर्ने भएकाले यसपटकको निर्वाचनमा कुनै पनि तहका स्वास्थ्यकर्मीलाई नखटाउन आयोग समक्ष आग्रह गरिएको मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख समेत रहेका मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
डा बुढाथोकीले भने ‘ हाम्रा धेरै स्वास्थ्यकर्मीहरु स्थानीयतहमा हुनुहुन्छ,यसअघिका निर्वाचनहरुमा त्यहाँ रहेका ती स्वास्थ्यकर्मीहरुलाई आयोगले खटाउने गरेको थियो, तर स्वास्थ्यकर्मीहरु नियमित देखि आमास्मिक सेवामा तयार रहनु पर्ने भएकाले यसपटक प्रत्यक्षरुपमा निर्वाचनमा नखटाउन आयोग समक्ष आग्रह गरिएको हो।’
डा. बुढाथोकीले यदी निर्वाचनमा स्वास्थ्यकर्मी खटाउनै पर्ने परिस्थिति आएमा काममा असर नपर्ने गरी विकल्पहरु तयार गरेर खटाउन समेत आयोग समक्ष आग्रह गरेको बताए। ‘ निर्वाचनको समयमा हुनसक्ने झडप,दुर्घटना र अन्य आकास्मिक घटनाहरुको जोखिम हुनसक्ने भएकाले यस्तो आग्रह गरिएको हो ।’
मन्त्रालयले निर्वाचन लक्षित अन्य पूर्व तयारी पनि थालेको बताएको छ । मन्त्रालय अन्तर्गतको एचईओसीले इमरजेन्सी टिम, हव तथा सेटलाइट अस्पताल, एम्बुलेन्स नेटवर्क, रेपिड रेस्पोन्स टिमहरु प्रत्येक स्थानीय तहबाट समेत परिचालन हुने गरी सक्रिय बनाइएको समेत ड.। बुढाथोकीले जनाए ।
उनले सम्भावित झडपबाट हुन सक्ने चोटपटक र त्यसका लागि उपचारका लागि चाहिने जनशक्ति तथा औषधीहरुको आवश्यक व्यवस्थापन समेत भइरहेको बताए ।
