
एजेन्सी, १२ फागुन । वेस्ट इन्डिजले जिम्बाब्वेलाई १ सय ७ रनले हराउँदै आइसिसी टि ट्वान्टी विश्वकपको ‘सुपर एट’ मा विजयी सुरुआत गरेको छ।
शिमरोन हेटमायरले ३४ बलमा शानदार ८५ रन बनाएपछि वेस्ट इन्डिजले ६ विकेट गुमाएर विशाल २ सय ५४ रन बनायो।
हेटमायरले आफ्नो विस्फोटक इनिङ्समा ७ छक्का र ७ चौका प्रहार गर्दै २ सय ५० को उच्च स्ट्राइक रेट कायम गरे। हेटमायरले ताशिंगा मुसेकिवाबाट ९ र ७० रनमा जीवनदान पाए। अन्ततः उनलाई ब्रायन बेनेटले ग्रेम क्रेमरको बलमा क्याच आउट गरे।
त्यसपछि रोभम्यान पावेलले ३५ बलमा ५९ रनको महत्वपूर्ण इनिङ खेले । साथै शेर्फेन रदरफोर्डले ३१ , रोमारियो शेफर्ड २१ र कप्तान साई होपले १४ र जेसन होल्डर १३ ले रन थपे।
यो योगफल टि ट्वान्टी विश्वकप इतिहासकै दोस्रो ठूलो स्कोर हो। यसअघि सन् २००७ मा श्रीलंकाले केन्याविरुद्ध २ सय ६० रन बनाएको थियो। २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेको सुरुआत खराब रह्यो। अकिल होसेनले ब्रायन बेनेटलाई ५ रनमा आउट गरे भने त्यसको तीन बलपछि रायन बर्ललाई शून्यमै पेभेलियन पठाए। त्यसबेला जिम्बाब्वे ३ ओभरमा २०–३ को अवस्थामा थियो।
त्यसपछि गुडाकेश मोटीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले डियोन मायर्सलाई २८ रनमा आउट गर्दै जिम्बाब्वेको मध्यक्रम ध्वस्त पारे।
खेल लगभग हारिसकेको अवस्थामा ब्राड इभान्सले २१ बलमा ४३ रन बनाउँदै खेललाई केही समय अघि बढाए। उनले आफ्नो इनिङ ५ छक्का प्रहार गरे। उनले रिचार्ड नगराभासँग मिलेर अन्तिम विकेटका लागि ४४ रनको कीर्तिमानी साझेदारी गरे।
समुह १ को पहिलो खेलमा हिजो दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराएको थियो।
