
काठमाडौं,१६ फागुन । बीबीसी वल्र्ड सर्भिसले नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा सार्वजनिक गरेको एउटा डकुमेन्ट्रीले नेपालमा तरंग ल्याइदिएको छ । ४१ मिनेटको उक्त डकुमेन्ट्रीमा दुई दिनको घटनाक्रमका दुर्लभ फुटेजहरुसँगै केही नयाँ सूचनाहरु संग्रहित छन् ।
भदौ २३ गतेको आन्दोलनमा १९ जना युवाहरुको गोली लागेर निधन भएको थियो । गोली चल्नुभन्दा अगाडि प्रदर्शनकारीले संसद भवनमा आक्रमण गरेको र प्रहरीमाथि ढुंगामुढा गरेको बिबिसीको डकुमेन्ट्रीमा देखिन्छ । गोली लागेर मारिएका मध्ये १७ वर्षिय श्रीयम चौलागार्इंलाई डकुमेन्ट्रीमा फोकस गरिएको छ । श्रीयमका पिता र मातासँग पनि कुराकानी गरिएको छ ।
श्रीयम त्यसदिन आन्दोलनमा सहभागी भए पनि अग्रपंतिमा थिएनन् । मुठभुडबाट छलिन खोज्दा नै उनी गोली लागेर ढलेको बिबिसीको रिपोर्टले देखाएको छ । गोली लाग्नुभन्दा ठिक अगाडिको श्रीयमको भिडिओ फुटेजमा पनि डकुमेन्ट्रीमा छ ।
प्रदर्शनकारीहरु प्रहरीको ब्यारिकेट तोडेर संसद भवनतर्फ गएका थिए । संसद भवनको पर्खाल भत्काउने र गेटमा आगो लगाउने गरेपछि प्रहरीले टियर ग्यास र पानीको फोहोरा हानेको बीबीसीको डकुमेन्ट्रीमा देखाइएको छ । तर, प्रदर्शनकारीहरु पछि नहटेपछि गोली चलेको थियो । प्रदर्शनको अग्रपंतिमा नरहेका केही युवाहरु पनि गोली लागेर ढलेका थिए ।
बीबीसीले डकुमेन्ट्रीको शीर्षकमै ‘सत्रुलाई जसरी गोली हानिएको’ भनेर सनसनी फैलाउने प्रयास गरेको छ ।
बीबीसीले त्यस दिन गोली चल्नुमा तत्कालीन प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङलाई मुख्य जिम्मेवार देखाउन खोजेको छ । प्रहरीको आन्तरिक रिपोर्टका हवाला दिएर विबिसीले खापुङको आदेशमा गोली चलेको दावी गरेको हो ।
रिपोर्टमा प्रहरी ‘लग’ को हवाला दिँदै कलसाइन ‘पिटर १’ बाट गोली चलाउने आदेश आएको जनाइएको छ । पिटर १ कलसाइन तत्कालीन आइजीपीको भएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्ट अनुसार फिल्डमा रहेका प्रहरीले पटक–पटक आदेश मागेपछि खापुङले कलसाइनबाट भनेका थिए, ‘कफ्र्यू लागू भइसकेको छ । अनुमति लिन आवश्यक छैन । आवश्यक बल प्रयोग गर्नु ।’
यही आधारमा बीबीसीले तत्कालीन आइजीपी खापुङलाई मुख्य जिम्मेवार भनेर आरोपित गरेको हो । घटनामा राजनीतिक नेतृत्वको भूमिकाको विषयलाई लिएर विविसीले कुनै पनि टिप्पणी गरेको छैन ।
रिपोर्टमा जेनजी अभियन्ता रक्षा बमलाई अत्यधिक हाइलाइट गर्न खोजिएको छ । उनले नै आन्दोलनको कमाण्ड गरेको जसरी प्रस्तुत गरिएको छ । रक्षा बमले आन्दोलन हिंसात्मक नहुने भनेर गरेको भाषण समावेश गरिए पनि उनैले जलिरहेको सिंहदरबार अगाडि उभिएर सेलिब्रेसन गरेको दृष्य भने राखिएको छैन ।
प्रहरी भन्छः रिपोर्ट आधिकारिक होइन, कलसाइन संवाद काल्पनिक
बीबीसीको रिपोर्टलाई लिएर नेपाल प्रहरीले भने असहमति जनाएको छ । रिपोर्टमा उल्लेखित प्रहरी कलसाइन संवाद आधिकारिक नभएको केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी अविनारायण काफ्लेले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘डकुमेन्ट्रीमै ती संवाद विभिन्न फुटेजका आधारमा संकलन गरेको भनिसकेपछि त्यसको आधिकारिकता छैन भन्ने बुझिन्छ’, उनले भने, ‘प्रहरीका कुरा हामीसँगै सोधे हुन्छ, त्यस्तो दुःख गरेर संकलन गर्नुपर्दैन ।’
संगठनले पत्रकार सम्मेलन गरेर उक्त घटनाबारे सम्पूर्ण उपलब्ध तथ्य सार्वजनिक गरिसकेको अवस्थामा आफूखुशी कुनै रिपोर्ट वा डकुमेन्ट्री बनाइएकोप्रति टिप्पणी आवश्यक नरहेको उनले बताए ।
डकुमेन्ट्रीमा प्रहरीका कलसाइन सहित संवादका व्यहोरासमेत उल्लेख गरिएको छ । प्रवक्ता काफ्ले प्रहरीका कलसाइन सबैलाई थाहा भएको भन्दै त्यसको उल्लेख सहित गरिने कुनै पनि रिपोर्टलाई आधिकारिक नमान्न अग्रह गर्छन् ।
‘त्यसदिन जे–जे भएको हो, त्यसबारे हाम्रो संगठनले स्पष्ट पारिसकेको छ, थप केही जानकारी चाहिए हामी वास्तविक तथ्य दिन हरदम तयार छौं,’ उनले भने ।
