
पोखरा, १६ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको सरकार बनेलगत्तै निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्ति छानविन अघि बढाउने उदघोष गरेका छन् । सभापति थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउने काम गर्न नहुनेतर्फ देसभरका मतदातालाई आह्वान समेत गरेका छन् ।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले कसैसँग पनि अब सिक्ने र सिकाउने समय नभएको भन्दै सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्ने निश्कर्ष पनि सुनाए ।
सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने स्पष्ट खाका तयार पारिसकेको बताए । ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरूलाई दिने भनियो भने देश फेरि पछाडि धकेलिन्छ, सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली कांग्रेससँग मात्रै छ’, थापाले भने ।
थापाले अगाडि थप्नुभयो, ‘देश एक्लैले बनाउन सकिने र एक्लैले चलाउन सकिने चिज होइन, सबैलाई समेटेर बनाउनु पर्छ, त्यो काम पनि कांग्रेस बाहेक अरूले गर्न सक्दैनन्, त्यसैले कांग्रेसलाई बहुमत दिनुहुन अनुरोध छ ।’ सभापति थापाले कांग्रेस बाहेक अरूले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको जिकिरसमेत गरे। कांग्रेस अहिले धेरै सुध्रिएर आएकाले कांग्रेसलाई मत हाल्नु नपर्ने कारण केही नरहेको पनि थापाको भनाई थियो ।
अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने उनले अठोट व्यक्त गरे। अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा पनि उनले गरे। कांग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरूलाई पनि गर्न नदिने दाबी पनि गरे ।
