
काठमाडौं, १६ फागुन । इङ्ल्यान्डले कोलम्बोमा न्युजिल्यान्डमाथि रोमाञ्चक ४ विकेटको जित निकाल्दै टि ट्वान्टी विश्वकप सेमिफाइनलअघि उत्कृष्ट लय बनाएको छ। अब पाकिस्तानले आज हुने खेलमा श्रीलंकालाई हराए न्यूजिल्याण्ड प्रतियोगिताबाट बाहिरिनेछ भने पाकिस्तानले सेमिफाइनल खेल्ने मौका पाउनेछ ।
पहिल्यै सेमिफाइनलमा स्थान पक्का गरिसकेको इङ्ल्यान्डलाई जितेका लागि अन्तिम १७ बलमा ४२ रन चाहिएको थियो। पिच स्पिनरका लागि अनुकूल थियो र रन बनाउन सहज थिएन।
तर रेहान अहमदले लामो सिधा छक्का प्रहार गरे। त्यसपछि विल ज्याक्सले पनि छक्का हाने र थप २ चौका प्रहार गर्दै अफ–स्पिनर ग्लेन फिलिप्सको एक ओभरमा २१ रन जोडे।
१९औं ओभरको अन्तिम बलमा अहमदले मिचेल सान्टनरलाई अर्को छक्का प्रहार गरेपछि अन्तिम ओभरमा ५ रन मात्र आवश्यक रह्यो।
इङ्ल्यान्डले ३ बल बाँकी हुँदै लगातार पाँचौं जित निकाल्यो। १ सय ६० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९।३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
ज्याक्स ३२ र अहमद ७ बलमा १९ रन बनाएर नटआउट रहे। दुवैले मिलेर सातौं विकेटका लागि १६ बलमा ४४ रनको साझेदारी गरे।
बलिङतर्फ पनि दुवैले समान २ विकेट लिए। इङ्ल्यान्डले १६ ओभर स्पिन बलिङ गर्दै न्युजिल्यान्डलाई ७ विकेटमा १ सय ५९ रनमा रोकेको थियो। न्युजिल्यान्डका सबै ७ विकेट स्पिनरले लिएका थिए।
अब इङ्ल्यान्डले भारतमा दोस्रो सेमिफाइनल खेल्ने निश्चित जस्तै भएको छ। न्युजिल्यान्ड भने दोस्रो स्थानमा छ।
तर शनिबार श्रीलंकामाथि पाकिस्तानले ठूलो अन्तरले जित निकालेमा न्युजिल्यान्ड सेमिफाइनलबाट बाहिरिन पनि सक्छ।
