
काठमाडौं, १७ फागुन । ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको पुष्टि भएको हो।
साथै विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाउँदै नागरिक तथा बासिन्दाको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार सुरक्षा निकायहरूले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम चालिरहेका छन्।
यद्यपि, तीन देशका तीन नागरिकको ज्यान गए पनि उनीहरूको मृत्यु कहाँ र कसरी भयो भन्ने विषयमा विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
यसैबीच, यूएईको राष्ट्रिय सञ्चारमाध्यम गल्फ न्युज का अनुसार हाल यूएईको अवस्था सामान्य रहेको जनाइएको छ। अधिकारीहरूले सर्वसाधारणलाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।
