
बर्दिवास, २५ फागुन । नेकपा (एमाले)मा पार्टीको नीति र नेतृत्व फेर्ने प्रकृया सुरु भएको छ । अहिलेको यो सुरुवात ११ औं महाधिवेशनमा केपी ओलीकै पक्षबाट भएको हो ।
ओलीकै क्याम्पका भनेर चिनिने विष्णु पौडेलले पराजयपछि पार्टीको नीति र नेतृत्व फेरेर जनताको सेवामा लागि रहने घोषणासंगै नीति, नेतृत्व, कार्यशैलीमा के–के परिवर्तन गर्नु पर्ने हो सुझाव संकलन गर्न लागेको बताइएको छ । सकेसम्म अध्यक्ष ओलीलाई मार्ग प्रसस्त गर्न सामूहिकरूपमा अनुरोध गर्ने त्यसो हुन नसके विशेष महाधिवेशनमार्फत हटाउने तयारी रहेको श्रोतले बताएको छ ।
त्यसैगरी महाचिवमा शंकर पोखरेलसंग झिनो मतले पराजित एमाले नेता सुरेन्द्र पाण्डेले समग्र पार्टी पंक्तिलाई निरास नहुन आग्रह गर्दै एमालेले गम्भीर आत्मसमीक्षा गर्दै संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमा ठोस सुधार गर्नुपर्ने बेला आएको उनले उल्लेख गरेका छन् । ‘जनताले दिएको सन्देश स्पष्ट छ– अब एमालेले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ,’ पाण्डेले लेखेका छन् ।
उनले जनविश्वास गुम्नुको कारणलाई इमानदारीपूर्वक स्वीकारेर त्यसबाट पठ सिके मात्र संगठन अघि बढ्न सक्ने पनि उल्लेख गरेका छन् ।
त्यस्तै अर्का नेता तथा उपमहासचिव योगेश भट्टराईले ‘हामी ढलेका हों मरेका छैनौं’ भन्दै उनले भनेका छन् ‘राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफना सुझाव, आलोचना र टिप्पणीहरु पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’
राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम– लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो । यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक बिचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि उनले सबैमा अपिल गरेका छन् ।
