कुनै व्यक्तिको हत्याले इरानी राजनीतिक प्रणाली अस्थिर हुँदैन : विदेशमन्त्री

अन्तराष्ट्रिय

तेहरान, ४ चैन । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का शक्तिशाली सचिव अली लारिजानीको इजरायलले गरेको हत्याले इरानको नेतृत्वलाई धेरै ठूलो फरक नपार्ने देशका विदेशमन्त्रीले बताएका छन्।

बुधबार बिहान तेहरानले लारीजानीको हत्याको पुष्टि गरेपछि प्रसारित अल जजीरासँगको अन्तर्वार्तामा इरानी विदेशमन्त्री अब्बास अराघचीले भने ‘अमेरिका र इजरायलले अझै पनि यो महसुस गर्न सकेका छैनन् कि इरानको सरकार एकल व्यक्तिमा भरमा रहेको छैन ।’

‘मलाई थाहा छैन किन अमेरिकी र इजरायलीहरूले अझै पनि यो कुरा बुझेका छैनन् ः इस्लामिक गणतन्त्र इरानमा स्थापित राजनीतिक, आर्थिक र सामाजिक संस्थाहरू सहितको बलियो राजनीतिक संरचना हो,’ अराघचीले भने।

‘एउटा व्यक्तिको उपस्थिति वा अनुपस्थितिले यो संरचनालाई असर गर्दैन,’ उनले भने ।

‘अवश्य पनि, व्यक्तिहरूको भूमिका हुन्छ र प्रत्येक व्यक्तिले आफ्नो भूमिका खेल्छन् कोही राम्रो, कोही नराम्रो, कोही कम काहीे अलि बढी तर महत्त्वपूर्ण कुरा के हो भने इरानको राजनीतिक प्रणाली एकदमै ठोस संरचना हो।’

अराघचीले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यालाई सम्झदै भने, ‘ठूलो राष्ट्रिय क्षतिको बाबजुद पनि, प्रणाली जारी रह्यो।’ खामेनी २८ फेब्रुअरीमा अमेरिकी–इजरायली आक्रमणको पहिलो दिनमा मारिएका थिए ।

‘हामीसँग सर्वोच्च नेताभन्दा माथि कोही छैन, र ती नेता पनि शहीद भए, तैपनि प्रणालीले आफ्नो काम जारी राख्यो र तुरुन्तै प्रतिस्थापन प्रदान गर्‍यो,’ परराष्ट्रमन्त्रीले भने।

‘यदि अरू कोही शहीद भए भने, यो त्यस्तै हुनेछ,’ उनले थपे। ‘यदि मै कहिले शहीद भएँ भने, यो पदमा लिन अरू कोही आउनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार