श्रीलंकाले पनि गर्यो ट्रम्पको प्रस्ताव अवज्ञा

अन्तराष्ट्रिय

काठमाडौं, ७ चैत । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकले दुईवटा अमेरिकी लडाकु विमान आफ्नो देशमा अवतरण गराउने अमेरिकाको अनुरोध सरकारले अस्वीकार गरेको बताएका छन् ।

मार्च महिनाको सुरुमा राष्ट्रपति दिसानायकेले शुक्रबार श्रीलंकाको संसद्मा बोल्दै वासिंगटनले मार्च ४ देखि ८ सम्म दक्षिण श्रीलंकाको मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरणका लागि अनुमति मागेको जानकारी दिए । यो अनुरोध फेब्रुअरी २६ मा गरिएको थियो, जुन अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गर्नुभन्दा दुई दिनअघिको समय थियो ।

‘उनीहरू जिबुतीको सैन्य बेसबाट आठवटा एन्टी–सिप मिसाइलले सुसज्जित दुईवटा युद्धविमान ल्याउन चाहन्थे,’ दिसानायकेले सांसदहरूलाई जानकारी गराए, ‘श्रीलंकाको तटस्थता कायम राख्न हामीले उक्त अनुरोधलाई अस्वीकार गर्‍यौँ ।’

‘हाम्राअगाडि दुईवटा अनुरोध थिए । र, निर्णय स्पष्ट थियो,’ उनले भने । बढ्दो द्वन्द्वका संकेत देखिएकाले कुनै पनि पक्ष नलिन सरकारले दुवै अनुरोधलाई अस्वीकार गरेको उनले उल्लेख गरे ।

‘यदि हामीले इरानलाई ‘हुन्छ’ भनेको भए, अमेरिकालाई पनि ‘हुन्छ’ नै भन्नुपर्ने हुन्थ्यो,’ दिसानायकेले भनेका छन् । इरानले पनि सोही दिन आफ्ना तीनवटा युद्धपोतका लागि यस्तै अनुरोध गरेको थियो, जुन नौसैनिक अभ्यासपछि भारतबाट फर्किएका थिए र श्रीलंकामा ‘पोर्ट कल’ गर्न चाहन्थे ।

तर, अमेरिकाले मार्च ४ मा टापुको दक्षिणी तटनजिकै इरानी जहाजमध्ये एक, आईआरआईएस डेनामाथि टर्पिडो प्रहार गरेको थियो, जसमा कम्तीमा ८४ जना नाविकको मृत्यु भएको थियो । श्रीलंकाको नौसेनाले ३२ जना इरानी जहाजका चालक दलका सदस्यलाई जीवितै उद्धार गरेको थियो ।

पछि, श्रीलंकाले ८४ जना नाविकको पार्थिव शरीर स्वदेश फिर्ता पठायो । टापुको दक्षिणमा रहेको मत्ताला अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले एएफपीलाई टेलिफोनमार्फत जानकारी दिँदै भनेका थिए, ‘इरानद्वारा चार्टर गरिएको एउटा एयरबस ए–३४० नाविकहरूको अवशेष लिएर केही समयअघि मात्र प्रस्थान गरेको छ ।’

‘८४ वटा सिल गरिएका बाकस लोड गर्नुपर्ने भएकाले प्रस्थानमा ढिलाइ भएको थियो,” नाम नबताउने सर्तमा ती अधिकारीले भनेका थिए ।

श्रीलंकाको परराष्ट्र मन्त्रालयका अनुसार, उद्धार गरिएका ३२ जना नाविक हालका लागि श्रीलंकामै छन् । तीमध्ये २२ जनालाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । र, उनीहरूलाई टापुको दक्षिणमा रहेको वायुसेनाको एउटा आधार शिविरमा राखिएको छ ।

दोस्रो इरानी युद्धपोत, आईआरआईएस बुसेहेरलाई ‘डेना’ डुबेको एक दिनपछि श्रीलंकाको समुद्री क्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको थियो । उक्त जहाजले कोलम्बोसँग सहयोगको अनुरोध गरेको थियो । श्रीलंकले उक्त जहाज र त्यसमा रहेका २१९ जना चालक दलका सदस्यलाई सुरक्षित बन्दरगाह उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार