
काठमाडौं, ९ चैत । संघीय संसद् सिंहदरबार भित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् ।
दलहरूको सांसद संख्या र पदाधिकारीको आवश्यकता अनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङ–रोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ । यस पटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ । सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ ।
पूर्ववत् प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचर नै पुनः प्रयोग गरिएको छ । थोरै नयाँ थपिएका छन् । खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणा अनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका लागि गरेको आग्रह अनुसार व्यवस्थापन गरिएको कर्मचारी बताउँछन् ।
बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्षसमेत तयार पारिएको छ । यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ । यद्यपि ती कक्षहरूमा रङ–रोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लाई भने साविककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ । सांसद संख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्था अल्पकालीन भए पनि संसद् सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्ने छन् ।
