साम्य भएन कपिलवस्तुको विवाद

समाचार

काठमाडौं, ९ चैत । तीन दिनयता दक्षिणी कपिलवस्तुमा सुरू भएको दुई समुदायबीचको विवाद अझै साम्य हुन सकेको छैन । सोमबार पनि जिल्लाका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका छन् । प्रशासनले निषेधाज्ञा जारी राखेको छ ।

कपिलवस्तुको महाराजगन्जको वरगदा गाउँमा मन्दिर तोडफोडको विषयमा उत्पन्न विवादपछि आक्रोशित प्रदर्शनकारी र प्रहरी झडपमा शनिबार प्रहरीको गोलीबाट ४ जना घाइते भएका थिए । यसको विरोधमा प्रदर्शनमा उत्रिएका ३ जना सोमबार पक्राउ परेका हुन् । आइतबार पनि जिल्लाका विभिन्न स्थानमा भएका प्रदर्शनमा प्रहरीले कुटपिट गरेको उनीहरुको आरोप छ ।

त्यहाँस्थित पत्रकार नारद कोहारका अनुसार सोमबार पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय हिन्दू परिषद् नेपालका राष्ट्रिय प्रभारी मनोज शुक्ला, जिल्ला अध्यक्ष विरेन्द्र चौधरी र विश्व हिन्दु परिषद नेपालका जिल्ला उपाध्यक्ष सुनिल तिवारी रहेका छन् ।

कपिलवस्तुका हिन्दू संगठनद्वारा आज आह्वान गरिएको बन्द र जिल्लामा देखिएको विषम परिस्थितिले कपिलवस्तु नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्द रहेका छन् भने परीक्षाहरु पनि स्थगित गरिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले संयमतासाथ अघि बढनु पर्ने बेला समाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विज्ञप्ति जारी गर्दै असहमतिलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने विकल्प हुँदाहुँदै नागरिकको जीवनलाई प्रत्यक्ष असर पुग्ने गरी बन्द हडताल, चक्काजाम जस्ता गतिविधि नगर्न आग्रह गरेको हो । साथै प्रशासनले सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति नदिन पनि अनुरोध गरेको छ ।

कपिलवस्तु घटनाका दोषीउपर कानुनी कारबाही प्रक्रिया सुरू भइसकेको र घटनाका घाइतेको उपचार भइरहेको बेला सामाजिक सञ्जालमार्फत बन्द गरिएको हल्लाप्रति प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार