
एजेन्सी, ११ चैत । विश्वमा करिब ३ अर्ब ३० करोड सक्रिय प्रयोगकर्ता रहेको लोकप्रिय मेसेजिङ प्लटेफर्म ह्वाट्सएपले एउटा बहुप्रतिक्षित प्राइभेसी फिचर ल्याउने भएको छ ।
हालसम्म केवल फोटो र भिडियोका लागि मात्रै सीमित रहेको भ्यू वन्स फिचर अब टेक्स्ट मेसेजमा समेत उपलब्ध हुनेछ । अर्थात् ह्वाट्सएपमा एकपटक मेसेज पढ्ने बित्तिकै त्यो टेक्स्ट मेसेज स्वतः आफैँ डिलिट हुने फिचर आउन लागेको हो ।
डब्लुए बेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपको नयाँ बीटा संस्करणमा आफ्टर रिडिङ नामको नयाँ फिचर फेला पारेको छ । यो फिचर हालको ‘डियापियरिङ मेसेज’ भन्दा फरक र उन्नत हुनेछ । किनकि यसमा म्यासेज पढ्नेबित्तिकै स्वतः गायब हुन्छ र त्यसका लागि कुनै निश्चित समय कुर्नु पर्नेछैन ।
हाल ह्वाट्सएपमा ‘डियापियरिङ मेसेज’ का लागि २४ घण्टा, ७ दिन वा ९० दिनको विकल्प छ । तर अप्टर रिडिङ फिचर सक्रिय भएपछि मेसेज प्रापकले मेसेज पढ्नेबित्तिकै त्यो च्याटबक्सबाट हट्नेछ । यो भनेको ह्वाट्सएपमा फोटोरभिडियोका लागि उपलब्ध ‘भ्यू वन्स’ फिचर जस्तै हो।
प्रारम्भिक परीक्षणअनुसार यसमा मेसेज पढिएपछि १५ मिनेटभित्र पठाउने र पाउने दुवैको ह्वाट्सएपको इनबक्सबाट त्यो स्थायी रूपमा हट्ने गरेको छ । यदि म्यासेज पढिएको छैन भने पनि त्यो २४ घण्टासम्म च्याटमा रहनेछ र त्यसपछि आफैँ डिलिट हुनेछ ।
यो सुविधा विशेषगरी ओटिपी, पासवर्ड, बैंक डिटेल्स जस्ता गोपनीय सूचनाहरू सेयर गर्दा उपयोगी हुने अपेक्षा गरिएको छ। यो सँगै प्रयोगकर्ताले ‘डिलिट फर एभ्रिवन’ जस्ता विकल्प प्रयोग गरेर ‘म्यानुअली मेसेज’ हटाउनु पर्ने झन्झट पनि कम हुनेछ ।
यसैबीच मेटा प्लेटफर्मले आइफोन प्रयोगकर्ताका लागि इनबिल्ट च्याट ट्रान्सलेसन फिचर पनि परीक्षण गरिरहेको छ । यो सुविधा मार्फत २१ भन्दा बढी भाषामा ह्वाट्सएपमा मेसेजहरू तुरुन्तै अनुवाद गर्न सकिनेछ । यो अनुवाद प्रणाली डिभाइसमै चल्ने भएकाले प्रयोगकर्ताको गोपनीयता पनि सुरक्षित रहने बताइएको छ
