अब सरकारविरुद्ध भिडियो बनाउँदा गृहको अनुमति लिनु पर्ने !

banner

काठमाडौं, १७ चैत । नेपाली कम्युनिष्ट पार्टी निकट जेन जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले पक्राउ गरेर कागज गराएर रिहा गरेको छ । सरकारविरुद्ध भिडियो बनाउनुअघि गृहमन्त्रालयसंग अनुमति लिन चेतावनी दिइएको उनले बताएकी छन् ।

नेपाल प्रहरीका सादा पोसाकका टोलीले मंगलबार बिहान करिब ११ बजे अनामनगर क्षेत्रबाट उहाँलाई नियन्त्रणमा लिएको बताइएको छ। पक्राउपछि उहाँलाई भद्रकाली स्थित प्रहरी परिसरमा लगिएको थियो।

पक्राउपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै तिमल्सिनाले आफूलाई सरकारको आलोचना गरेको कारण नियन्त्रणमा लिइएको बताइन् । उनका अनुसार प्रहरीले रिहा गर्ने क्रममा भविष्यमा सरकारविरुद्ध कुनै पनि भिडियो सामग्री नबनाउने लिखित प्रतिबद्धता गराएको थियो।

उनले भनिन्, ‘प्रहरी कार्यालयमा लिखित कागज गराएर मात्र मलाई छाडिएको छ। भिडियो बनाउनुअघि गृह मन्त्रालयको अनुमति लिनुपर्ने चेतावनी पनि दिइएको छ।’

यस घटनाले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार सम्बन्धी विषयमा नयाँ बहस सिर्जना गरेको छ। यद्यपि, घटनाबारे सरकारका तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार