
काठमाडौं, २७ चैत । प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले उनलाई शपथ गराएका हुन् ।ठाकुर आजै उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
यसअघि संसदमा उपस्थित भएका २५६ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो। एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् तर तटस्थमा २२ मत खस्यो।
नेपालकै कम उमेरकी उपसभामुख बनेकी २५ वर्षकी रुबीकुमारी अहिलेको संसदकै कान्छी सदस्य पनि हुन् । श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला कोटामा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।
धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग कुनै पनि राजनीतिक पृष्ठभूमि थिएन । उनको काँधमा ४ बहिनी र २ भाइको जिम्मेवारी थियो । रुबीका बाबु सोगराथ ठाकुर अहिले पनि वैदेशिक रोजगारीका लागि साउदीअरबमा छन् । आमा रेणु गृहणी हुन् ।
