वार्धक्य

कला/साहित्य

1631525322-qzxah

जब एउटा वयस्क उमेर हुन्छ उसलाई संसार एक्लैले जित्छु भन्ने भित्रैबाट एउटा छुट्टै नयाँ जोश जागर र आँट हुन्छ चाहे त्यो मानिस, जनावर र पशुपंक्षी नै किन न होस कसैमा पनि ।

सूर्यलाई हत्केलाले छेकेर चन्द्रमाको टोपी लगाउनेसम्मको हिम्मत हुन्छ त्यो बेला । आफूभन्दा पाका उमेरका मानिसहरुले भनेका कुराहरू हास्यास्पद र बेतुकका लाग्दछ्न सुन्दै झर्को लाग्ने ।

कुनै कुनै बेला त आफ्नै मनले पनि भन्छ भौतिक तथा जैविक विज्ञानको यो पारदर्शी दुनियाँमा जुन शिक्षा पाइरहेका छौ, जसबाट एउटा टेवलमा बसेर ब्राह्मणको ज्ञान लिन सकिन्छ, एउटा एटम बमले विश्व समेत ध्वस्त हुन्छ। यो बैज्ञानिक हिसाबले कायपलट भएको शताब्दीमा जन्मिएका हामी र ABCD लेख्न पढ्न न आउने, स्मार्ट फोनको लक खोल्न नजान्ने, गुगल भनेको के हो नजान्ने यी बुढा बुढीले गरेका गन गन दिक्क लाग्ने झर्को लाग्ने कामै नलाग्ने लाग्न सक्छन ।

समय सङ्गै कोही चिज पनि कसैको पेवा भएर स्थिर रहदैन । हरेक पुस्तामा नयाँ आविष्कार खोज विकास र विनास भै रहेको थियो अनि भै नै रहन्छ । मानिस अँझै नयाँ केही पाउने आशक्तिमा लिप्त भै खोज र अन्वेषणमा लागि नै रहन्छ त्यसैको फलस्वरूप मानिसको हरेक पुस्ताको जीवनमा उनीहरुको इच्छा चाहना रुचि र आकांक्षाहरू फरक फरक हुँदै जाने गर्दछ्न जसले गर्दा जीवनशैलीमा आमुल परिवर्तन आउने गर्दछ ।

तर जब बिस्तारै त्यो वयस्क वृद्ध अवस्थामा पुग्न लाग्छ अब उसलाई आफ्ना अग्रजले भनेका सबै कुराहरू ठिक लाग्न थाल्छ्न । अब उसले आफ्ना अनुभवहरू अर्को वयस्कलाई बाड्न खोज्दा ऊ आफै हाँस्यको पात्र हुन पुग्छ । आजको वयस्कलाई संसार जित्ने आट विश्वास भरोसा र हिम्मत आफै सँग पर्याप्त भएको क्षण भंगुर आभास छ हिजोको त्यो वयस्क जस्तै ।

तर यहाँ याद राख्नु पर्ने कुरा के छ भने कसैले जीवनमा भोगेको अनुभव त्यो उसको बौद्धिक सम्पत्ति हो जुन कसैले चोर्न र भत्काउन सक्दैनन । उसका फुलेका सेताम्मै केश अनुभवले सङ्गालिएर बसेका इन्द्रेणीका वास स्थान हुन । उसका चाउरिएका गाला र फुक्लिएका दातको मूल्य संसारको कुनै पनि आर्थिक पैयाले मापन गर्न सक्दैन । होला तपाईं कुनै विषयमा पोख्त ज्ञानी विशेषज्ञ हुनुहोला तर ती उमेरको बढ्दो समीकरण सङ्गै फुलेका हिउँ जस्ता सेताम्मै केशलाई, जीवनका वास्तविक गल्ली दोबाटो र गोरेटोमा भोगेका र अनुभव गरेका अनुभूतिहरूलाई कुनै मार्कसिटको अंक सँग तुलना गर्न सकिँदैन । वार्धक्य आफैमा ज्ञान र अनुभवको अथाह अमृत सागर हो जहाँबाट मुल फुटाइ हामीले त्यो अमृतको भरपुर रसस्वादन गर्न सक्छौ । जीवनको वास्तविक दर्शन पाउन सक्छौ ।

सकारात्मक सोच्नुस यदि तपाईंका पनि दारी चमेली फूल जस्तै फुल्न थाले, तपाईंका केशले कालो र सेता धर्का लाउन थाले लिपिस्टिक र पाउडरले पनि तपाईंको सौन्दर्यलाई इङ्कारको दृष्टिले हेर्न थाले, छालाहरू सरेर मासु र हड्डीबाट अलग्गै घर बसाउन ताम झाम गर्न लागे भने न आत्तिनुस तपाईं बूढो भएर मृत्यु मात्रै पर्खिनु भएको हैन तपाईं उमेर हुञ्जेल जुन चिजको खोजीमा अहिर्नश दौडिरहनु भएको थियो ती सबै गलत रहेछ्न भन्ने कुराको निस्कर्षको समय हो यो । बुढ्यौली कसैको बोझ र समस्या हैन गहिरिएर मनन गर्नुस यो त सम्पूर्ण समस्याहरुको समाधानको स्थान हो । वार्धक्य भनेको विद्वता र जीवनको अनुभवको अमूल्य खजाना हो ।त्यसैले ज्ञान र अनुभवका सागरको किनारामा हैन बुढा बुढी हुनु भएका आफ्ना आफन्तजन वा अन्य जो सुकै हुनुहोस वहाँ हरुको अनुभवमा पौडिएर आफूलाई परिपक्क बनाउनुहोस । त्यही घोप्टो परेर मोबाइलमै चौबीसै घन्टा लागि पर्नुभन्दा सोच्नुहोस त्यो मोबाइलको भर्जुअल दुनियाभन्दा पर पनि अर्को छुट्टै संसार छ । आफ्नै बुढा बा आमा हजुरबुवा हजुरामामा आफ्नो संसार खोज्ने प्रयास गर्नुस । वाट्सप म्यासेञ्जर फेसबुक, टिकटकको भड्काउ संसारलाई बन्द गरेर आफ्ना आमाका फुटेका हात र चिरा परेका कुर्कुचा अनि ठेला उठेर मासु हड्डी जस्तै भएका बुवाका हात अनि पैताला टेक्ने वर्षौं अघि खिइएका चप्पल नियाल्नुस त असली जिन्दगी त्यहाँ भेट्नुहुनेछ । वृद्ध यानेकी बढेको, पाकेको, परिपक्क त्यसैले हामीले परिपक्क मानिसहरुको विचारलाई आत्मसात गर्दै नयाँ पिढिको आवश्यकता अनुसार ती नयाँ पिढिहरूको अथाह उर्जालाई परिपक्कता सँग मिलाप गराउन सक्यौ भने पक्कै पनि सुख र शान्तको नयाँ आविष्कार गर्न सकिन्छ ।

एउटा सानो उदाहरण मानौ, खेतमा फल्ने फसललाई काटेर राखिदिउ अनि केही समय पछि त्यसको तुलना खेतमा रहेका नकाटेका फसल सँग तुलना गरौ । हावा पनि त्यही थियो, पानी पनि त्यही थियो, सूर्यबाट प्राप्त गर्ने सौर्य उर्जा पनि उति नै थियो, जमिन त्यही थियो तर किन त्यो काटिएको फसल सुकेर खङरङ्ग भयो ? त्यो सुक्यो किनकि ती आ आफ्नो जराबाट काटिएर अलग भए।

आफ्नो अस्तित्वबाट अलग भए जसको विकास आफ्नो जराको साथ थियो । जब जरा नै नरहेपछि फल लाग्ने आशा केवल आशा मात्र नै रहन्छ ।

हो मनुष्य पनि त्यस्तै हो, जो मनुष्य आफ्नो आमा बुवा, आफ्नो धरती आफ्नो जीवनदायनी, जमिनलाई बिर्सिन्छ उसको विनास निश्चित हुन्छ । सदैव इतिहास साक्षी छ कि जुन सभ्यताले आफ्नो विरासतको रक्षा गरेनन त्यो सभ्यता कालको अँध्यारो गहिराईमा समाहित भएको छ ।

अहिले आँधीहुरी जस्तै गाउँ गाउँ कुना कुना फैलिएको आधुनिकताको फुस्रो रंगले हाम्रो संस्कृति हाम्रा मूल्य र मान्यताहरू क्षीण हुँदै गइरहेका छ्न । विडम्बना पूरा परिवारलाई ताप र रापबाट बचाइ छाया बनेर शीतलता प्रदान गर्ने कतिपय व्यक्ति वृदावस्थामा एक्लै, असहाय, एवं बहिष्कृत जीवन जिइरहेका छ्न । जीवन भर आफ्नो मन, वचन र कर्मले रक्षा गर्ने, एउटा सानो बिरुवाबाट ठुलो रुख बनाउने व्यक्ति घरको एउटा कुनामा उपेक्षित भएर बाचिरहेका छ्न या अस्पताल होस चाहे वृद्धाश्रम त्यहाँ आफ्नो मृत्युको प्रतीक्षा गरेर बसिरहेका छ्न । आजको वैश्विक समाजमा वृद्धहरुलाई अनुत्पादक, अरु सँग आश्रित, सामाजिक स्वतन्त्रताभन्दा पर, आफ्नो परिवारबाटै उपेक्षित एवं युवा पिढी आर्थिक भारको दृष्टिले हेर्ने गर्दछ्न । जबसम्म हामी वृद्धजनको महत्व बुझ्न सक्दैनौ, त्यो उमेरको पीडालाई महसुस गर्न सक्दैनौ, हामीले जति सुकै राम्रो आचरण देखाए पनि ती सबै बनावटी, नक्कली ढोँग हुन ।

त्यसैले सन्तानका लागि उनीहरुका बुवा आमा नै जरा हुन, भला ही केही समयको लागि बुवा आमा बिना अगाडि बढ्न सक्लान तर जीवन रुपि वृक्षमा फल फूल कदापि लाग्ने छैन । एउटा फसलको जस्तै हर मनुष्यले आफ्नो जराहरू सँग जोडिएर रहनु पर्दछ ।
(‘मझेरी’ बाट साभार)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार