बर्दिवास १३ भदौ । फल्न थालेको पहिलो ४ महिनामै २ कट्ठाभन्दा कम जमिनमा लगाएको ड्रागन खेतीले ३० हजार आम्दानी दिएपछि उनी हौसीएका छन् । उनी हुन् बर्दिवास नगरपालिका– ८ का हरिबहादुर थापा ।
उनी भन्छन् ‘फल लाग्न चाँही तीन वर्ष लाग्यो, तर फल्न थालेपछि त फलेको फल्यै गर्दोरहेछ ।’ उनले दुई कट्ठाभन्दा कम जमिनमा लगाएको ड्रागन फ्रुटको खेतीले चार महिनाको अवधिमै ३० हजार आम्दानी लिइसकेका छन् । ‘एक पल्ट १५ किलो, २० किलो गरेर एक क्विन्टल जति बेचियो होला । कोही २५० मा बेचियो, कोही ४०० मा बेचियो, सरदर ३०० सय राख्नु पर्ला । अझै फुल्दैछ फल्दैछ । गज्जव पो हुँदो रहेछ ।’
दुई कट्ठाको ड्रागन खेतीले पल्कीएका हरिबहादुरले अहिले यसको दायदा बढाएका छन् । अहिले उनले आफै विरुवा उत्पादन गरेर करिव ६ कट्ठामा ड्रागन रोपिसकेका छन् भने अझै रोप्न पोलिथिनमा विरुवा उत्पादन गरिरहेका छन् । ‘नजानेर पो रहेछ त ! गर्दा त हुने रहेछ । केको कतार, मलेशिया जानु । उता योभन्दा धेरै पसिना वगाएर अरुलाई धनि बनाउने मात्र हो ।’
आफूले युट्युबमा हेरेर आकर्षित भएको बताउने उनी पहिलो पल्ट गौशाला –१ ईटाटार स्थित नायण श्रेष्ठको नर्सरीबाट विरुवा ल्याएको बताउँछन् । अहिले उनले आफै विरुवा उत्पादन गर्न थालेका छन् । नर्सरीबाट ल्याएको विरुवा स–साना थिए । हुर्कन समय लागेकाले तीन वर्षमा फल दिन थालेको उनले बताए । अहिले आफुले उत्पादन गरेको विरुवा एकै वर्षमा फल्ने उनको विश्वास छ ।
ड्रागन खेतीको बीचमा उनले बेसार पनि लगाएका छन् । ‘बीचको जमिन किन खाली राख्नु भनेर बेसार लगाएको हो’ उनले भने ‘यो बीचको ठाउँमा जोतकोड गर्न गाह्रो भएर हाते ट्रयाक्टर किनेको छु ।’ गोरु पाल्ने चलन हरायो । ठूलो ट्रयाक्टर ड्रागन लगाएको हारको बीचमा पस्दैन, घुमाउन गाह्रो हुन्छ । बीचको भागमा झार पलाएर जंगल हुने भएकाले बेसार खेती गरेको उनी बताउँछन् ।
अहिले धेरैले ड्रागन खेती गरेको सुन्दा उनी हच्किएको बताउँछन् । धेरै भएपछि भाउ पाउन गाह्रो हुन्छ । फेरि यो फल्न थालेपछि बाह्रै महिना फल्ने भएकाले भाउ सस्तो हुने गरेको उनले बताए । बर्दिवास चोकमा पु¥याएर तीन सय प्रति केजी बेचेकोमा जनकपुर पु¥याउँदा भने ४०० भाउ पाएको उनको अनुभव छ ।
पहिलेदेखि अरूभन्दा फरक तरिकाले खेती गर्ने हरिबहादुर तरकारी खेतीका राम्रा किसान हुन् । के गर्दा, कुन खेती गर्दा कम श्रममा बढी आम्दानी लिन सकिन्छ उनी त्यसकै ध्याउन्नमा रहन्छन् । आफूले अहिले भदौ, असोजमा फल्ने नयाँ जातको आँपको बँगैचा पनि लगाएको उनले बताए ।
उनको घर वरपर कतै खाली ठाउँ छैन । ‘तरकारी खेती कलिकता खुम्च्याएको मात्र हो, छोडेको छैन,’ उनी भन्छन् ‘अहिले अगरउड् रुखको बारेमा जानकारी लिइरहेको छु । हाम्रो यताको मौसममा हुने रहेछ भने र बिक्रि गर्न सकिने रहेछ भने, त्यो गज्जब लागेको छ ।’