थापाथली प्रसूति अस्पतालमा सुरु गरियो पिसिआर परीक्षण

समाचार

thapathali hospital

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कोभिड– १९को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पिसिआर मेसिन उपलब्ध गराएसँगै कोभिड– १९ को परीक्षण सुरु भएको हो ।

अस्पतालको ६१औँ वार्षिकोत्सवको अवसरमा मंगलबार पिसिआर प्रयोगशालको औपचारिक उद्घाटन गरिएको छ । महानगरपालिकाले पिसिआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पिसिआर ल्याब निर्माण गरेको हो ।

महानगरले पिसिआर मेसिनसहित भिटिएम एक हजार पाँच सय थान, आरडिटी एक हजार पाँच सय थान र पिपिई पाँच सय थान उपलब्ध गराएको छ । अस्पतालकी निर्देशक संगीताकौशल मिश्राले महानगरपालिकाले पिसिआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताइन् ।

उनले संक्रमणको महामारीको अवस्थामा अस्पतालभित्रै पिसिआर परीक्षण प्रयोगशाला स्थापना हुँदा बिरामीको उपचारमा थप सहयोग पुग्ने बताइन् ।

अस्पतालले कोभिड– १९ संक्रमणको आशंका लागेका बिरामीलाई कुपण्डोलस्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको र पिसिआर परीक्षणको ल्याब सुरु भएपछि उपचारका लागि थप सहज हुने उनले बताइन् ।

गत आर्थिक वर्षमा अस्पतालले १९ हजार ६ सय २५ जना महिलालाई बहिरंग सेवा दिएको थियो । त्यस्तै २२ हजार चार सय ६१ जनाको सुरक्षित सुत्केरी गराउन अस्पताल सफल भएको जनाएको छ । यसबाहेक आठ हजार पाँच सय २८ जनाले शल्यक्रियाबाट बच्चा जन्माएको अस्पतालले जनाएको छ ।

अस्पतालमा एनआइसियू सेवा, क्यान्सरसम्बन्धी परीक्षण, अल्ट्रासाउन्ड सेवा, सिटीस्क्यान सेवा र मेमोग्रामलगायतका सेवा उपलब्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार