भारतका पूर्वराष्ट्रपति कोरोनाले सिकिस्त, भ्यान्टिलेटरमा भर्ना

अन्तराष्ट्रिय

113883923 pranab mukherjee

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। उनी ८४ वर्षका भए।

कोभिड–१९ पुष्टि भएको भोलिपल्ट मङ्गलवार सघन उपचार कक्षमा सारिएको बताइएको छ। अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूले अस्पतालले उनको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्त्वपूर्ण हुने बताएको उल्लेख गरेका छन्। राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरेका थिए।

उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कको बोर्डमा पनि काम गरेका थिए। कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्यामा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।

भारतमा मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन्। भारतमा २० दिनमा सङ्क्रमण १० लाखबाट दोबर हुँदै २० लाख भएको थियो।

विगत २४ घण्टामा त्यहाँ झन्डै ६४,००० सङ्क्रमित थपिएर कुल सङ्ख्या २३ लाख नजिक पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार