त्रिविका परीक्षाको जिम्मा डीन कार्यालयलाई

समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यसअघि बन्दाबन्दी  खुलेसँगै पनिकाले आगामी १६ भदौदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो ।

त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ  । परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए ।

१ भदौदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि  विद्यार्थी काठमाडौं आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  १५ भदौसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ ।

 

परीक्षा नियन्त्रण कार्यालयले बन्दाबन्दी यता २८ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । बन्दाबन्दी समयमा १६  र ७  साउनयता १२  वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।

पनिकाले बन्दाबन्दीमा प्राध्यापकलाई कार्यालय बोलाई उत्तरपुस्तिका परीक्षण गरी १८ वैशाखदेखि नतिजा प्रकाशन गर्न थालेको हो । उनका अनुसार अब बन्दाबन्दी अगाडि परीक्षा भएका ८ परीषाका परीक्षाफल मात्र प्रकाशन बाँकी  छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार