भेन्टिलेटर अभाबमा ज्यान गुमाउँदै संक्रमित, शुन्य छ सरकारको तयारी

समाचार

death AlDQPlBINT

राजविराज । प्रदेश २ मा कोरोना भाइरसको अवस्था भयावह भए पनि तयारी भने नाम मात्रको छ। सबैभन्दा बढी संक्रमित रहेको प्रदेशमा आइसीयू र भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका छन्।

सास फेर्न गाह्रो भएपछि गत साउन ११ जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षका युवकको आइतबार मृत्यु भयो।
चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताएका थिए। ेप्रादेशिक अस्पतालमा भएको २ वटा भेन्टिलेटर खाली नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरियो। तर धरान नपुग्दै बाटोमै उनको मृत्यु भयो। गत वैशाखदेखि नै प्रदेश २ मा कोरोना संक्रमितको चाप बढेको छ, कोरोनाकै कारण प्रदेश २ मा ३९ जनाको मृत्यु भइसकेको छ।

हालसम्म पर्सामा १९ जना, बारामा ६, रौतहटमा २ जना तथा महोत्तरीमा २ , धनुषामा ६ , सिरहामा १ र सप्तरीमा ३ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको छ।। प्रदेश सरकारको तयारी अहिलेसम्म अनुगमन र निर्णयमै सिमित रहेको छ।

प्रदेश २ मा अहिलेसम्म ६ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ हजार ६ सय २६ जना सक्रिय संक्रमित रहेका छन्। प्रदेशका अस्पतालमा १५ वटा आइसीयू र १० वटा भेन्टिलेटर छन्। ६ वटा भेन्टिलेटर मात्र प्रयोगमा रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए।

झाका अनुसार प्रादेशिक अस्पताल जनकपुरमा ३ वटा भेन्टिलेटर र ७ वटा आईसीयु, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ३ वटा भेन्टिलेटर र ८ वटा आइसीयू छन्। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा ४ वटा भेन्टिलेटर रहेपनि आइसीयू नहुँदा त्यसको प्रयोग हुन नसकेको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका निमित मेसु रञ्जित झाले बताए।

प्रदेशमा कोरोना संक्रमित बढदै गएपनि प्रदेश सरकारले यसतर्फ कुनै चासो देखाएको छैन। प्रदेशमा भेन्टिलेटर अभाव रहेको विषयमा आलोचना हुन थालेपछि गत वैशाख ८ गते प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारले प्रत्येक जिल्लामा भेन्टिलेटरसहितको आइसीयू कक्षको व्यवस्था गर्नका लागि रकमसमेत निकासा गरिसकेको छ। भेन्टिलेटर खरिदको निर्णय भएको तीन महिना बितिसक्दापनि किनिएको छैन। अन्नपुर्ण पोष्ट दैनिक

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार