अस्पताल सिल हुँदा विरामीको विचल्ली, कुन–कुन अस्पताल बन्द ?

समाचार

113939424 bbb doti ghaitemahilakoupcharhudaia

काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको संख्या बढिरहेका बेला राजधानीसहित देशभरिका थुप्रै अस्पतालका सेवा प्रभावित भएका छन् । स्वास्थ्यकर्मीमा कोरोनाभाइरस सङ्क्रमण देखिएका कारण कतिपय अस्पतालहरू सिल हुँदा स्वास्थ्य सेवा प्रभावित बनेका हुन्।

नेपाल मेडिकल काउन्सिलले ‘अस्पतालहरू सावधानीका उपाय नअपनाइदिँदा’ सिल हुने अवस्था आउनुचिन्ताजनक रहेको बताएको छ।

कुन–कुन अस्पताल बन्द ?
काठमाडौंको गंगालाल हृदयरोग केन्द्रमा सङ्क्रमण देखिएपछि नयाँ बिरामीहरूले उपचार पाउन समस्या बेहोरेका छन्। त्यस्तै केही दिनअघि वीर अस्पताल पनि आंशिक रूपमा सिल गरिएको थियो।

बिहीवारदेखि धुलिखेल अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरू अनिश्चित कालका लागि बन्द गरिएको अस्पतालले जनाएको छ। चितवनको भरतपुर अस्पतालमा पनि आकस्मिक कक्षमा कार्यरत नर्समा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको छ।

धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि अर्को सूचना नहुन्जेलसम्मका लागि भन्दै बाहिरका बिरामीलाई दिइने सेवा पूर्ण रूपमा बन्द गरिएको सूचना बुधवार निकालेको छ।

बन्द गरिएका अस्पताल सञ्चालनमा

संक्रमण धेरै देखिएको प्रदेश २ को वीरगञ्जस्थित अधिकांश अस्पतालहरू सिल गरिएका थिए। अहिले एडभान्स अस्पताल बाहेक बाँकी अस्पताल सञ्चालनमा आएको नारायणी अस्पतालका संयोजक डा. उदायनारायण सिंहले बताए। त्यस्तै प्रदेश नम्बर १ को विराटनगरमा सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पताल अहिले सञ्चालनमा छ।

उक्त अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार एक चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि केही दिनका लागि बहिरंग सेवा बन्द गरिएको थियो।

विराटनगरका धेरैजसो निजी अस्पतालहरूमा भने आकस्मिक बाहेकका सेवा बन्द गरिएको हाम्रा सम्वाददाता विक्रम निरौलाले जानकारी दिए। तर आकस्मिक सेवा सञ्चालनमा रहेको बताइए पनि कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरूको उपचारमा भने ती अस्पतालले आनाकानी गर्दा सरकारी अस्पतालमा चाप बढेको छ।

कर्णालीमा अस्पताल पुनः सञ्चालनमा

कर्णाली प्रदेशमा अहिले कुनै अस्पताल सिल नगरिएको भए पनि विगतमा सुर्खेतस्थित प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल गरिएको थियो। कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीका अनुसार अहिले सिल गर्नुपर्ने अवस्था नरहेको र यदि स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिए पुनस् सिल गरिने बताए।

कतिपय स्थानमा अस्पताल सिल नगरिए पनि लकडाउनका कारण बिरामीलाई अस्पतालसम्म पुग्न असहज भएको बताइन्छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईका अनुसार अस्पतालका सेवाहरू पूर्ववत् अवस्थामै सञ्चालन भइरहेका छन्।

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसहरूलाई भने अस्थायी रूपमा बनाइएका दुईवटा अस्पतालमा उपचार गरिँदै आएको बीबीसी सम्वाददाता माधव नेपालले जानकारी दिए। यसअघि नेपालगञ्ज मेडिकल कलेज पनि सिल गरिएको थियो। अहिले भने प्रभावित विभागमात्रै परिस्थिति अनुसार केही घण्टा सिल गर्ने गरिएको अस्पतालले जनाएको छ।

‘कहिले एकै पटक दुई(तीनवटा विभाग सिल गर्नुपर्ने अवस्था आउँछ। कहिले पूरै अस्पताल। तर अहिले अस्पतालका सबै विभागबाट सेवा सञ्चालमा रहेको छ,’ शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक नितेशकुमार कनोडियाले भने। अहिले अस्पतालका कतिपय विभागमा स्वाथ्यकर्मीको अभावका कारण सेवा दिन असहज भएको पनि उनले बताए।

चिन्ताजनक अवस्था

अस्पतालमा आउने बिरामी वा स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि त्यसको मारमा अन्य रोगको उपचार गर्ने बिरामीमा पर्ने गरेको चिकित्सक तथा जनस्वास्थ्यविद्हरूले बताउने गरेका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइरालाले अस्पतालहरू सिल हुने अहिलेको अवस्था नै चिन्ताजनक रहेको बताए।

कोइरालाले भने, ‘अस्पतालहरूले सावधानीका उपाय नअपनाइदिँदा कोभिड नभएका बिरामीलाई पनि उल्लेख्य धक्का पुगेको छ।’ ‘उपचारमा आएका बिरामीलाई पछि सङ्क्रमण देखिने र त्यतिबेलासम्म धेरै सङ्क्रमित भइसक्ने कारणले समस्या बढ्दै गएको देखिन्छ।’

अहिलेको चुनौती कोभिड–१९ भएका स्वास्थ्यकर्मीबाट बिरामीलाई नसर्ने व्यवस्था गर्नुपर्ने उनले बताए। अझै पनि थुप्रै अस्पतालहरूले सङ्क्रमणबाट जोगिन र त्यसबारे अपनाउनुपर्ने सावधानी नअपनाएका कारण अवस्था खराब हुनसक्ने उनले बताए।

काउन्सिलकै अर्का सदस्य डा। ढुण्डीराज पौडेलले समयमै कोरोनाभाइरस सङ्क्रमित अस्पतालहरू व्यवस्था नगरिँदा त्यसले अन्य बिरामीलाई समेत मर्का परिरहेको बताए। डा. पौडेलले भने, ‘कोरोनाभाइरसका बिरामीको उपचार गर्ने छुट्टै अस्पतालको व्यवस्था नहुँदा अस्पतालमा सङ्क्रमण देखिएर सिल हुने अवस्था आउन थालेको छ।’

यसले गर्दा अन्य रोगका कारण उपचार गर्न आउने बिरामीको अकालमा मृत्यु हुने अवस्था आएको छ।’ अहिले देशभरका निजी तथा सरकारी गरी १५९ वटा अस्पतालहरूले कोरोनाभाइरसम्बन्धी सेवा दिइरहेको बताइन्छ।

यसैबीच स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्यकर्मीहरू सङ्क्रमित हुँदा पनि उपचार कायम राख्ने गरी तयारी गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार