पहिरोमा ज्यान गुमाउनेप्रति सभामुख सापकोटाद्वारा शोक व्यक्त (विज्ञप्तिसहित)

समाचार

Capture 1

सिन्धुपाल्चोक । लगातारको विपत्तिले थलिएको सिन्धुपाल्चोकमा शुक्रबार थप विपत्ति आइपरेको छ । जिल्लाको जुुगल गाउँपालिका–२ लिदिमा शुक्रबार गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शोक व्यक्त गरेका छन् । गृहजिल्लासमेत रहेको घटनास्थलमा पुगेर फर्किएपछि विह्वल हुँदै सभामुख सापकोटाले शोक विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा उनले अविरल बर्षापछि गाउँमाथिबाट खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ जसमध्ये १३ घर पूर्णतः पुरिनुका साथै पहिरोमा परेका ३८ जना स्थानीयमध्ये १७ जनाको शव निकालिएको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘आज बिहान म पहिरोस्थल पुुगें । तत्काल ५ जना घाइतेको उद्दार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइयो । स्थानीयले आफ्नो गाउँमा परेको पीडाबारे जानकारी गराउनुभयो । पहिरोस्थल पुगेको नेपाली सेनाको टोलीसँगको समन्वयमा तत्काल खोजी कार्य सुरु गरियो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा पुरिएकाहरुको खोजी कार्य जारी छ ।’

पहिरोका कारण विस्थापित भएकाहरुका लागि तत्काल राहत सामग्री पठाउने काम गरिएको जनाउदैं विज्ञप्तिमा बेपत्ताहरुको खोजी र पुनस्र्थापनाका लागि पहल जारी रहने जनाएका छन् । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण ठूलो जनधनको क्षति र भौगौलिक रुपमा जर्जर भएको भूगोलका कारण अझै यस्ता प्राकृतिक विपत्तिका घटना दोहोरिन सक्ने भएकोले सचेत रहन सम्पूर्ण जिल्लाबासीलाई उनले अपील गरेका छन् ।

यसैगरी गएराति कालीकोट जिल्लाको महावै गाउँपालिकामा खसेको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको र मकवानपुरमा पनि एक जनाको मृत्यु भएको खबरले आफूलाई दुःखित तुल्याएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘यस दुःखद घडीमा, विपत्तिमा परी ज्यान गुमाउनुभएका सिन्धुपाल्चोकका लिदिबासी, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु भएका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

सभामुख सापकोटाले सिन्धुपाल्चोकको लिदिबाट उद्दार गरी चौतारा अस्पतालमा उपचार गराइरहेका चारजना र काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका एकजना घाइतेकोशीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

117528847 170219181226937 5194206172087231350 o

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार